
पुस ३ गते ।
२ न. प्रदेशको उच्च अदालत जनकपुरधाममा कार्यरत न्याधीशको अंगरक्षक रहेका प्रेमीको हतियार लिएर फरार रहेका युवा पक्राउ परेको छ । अदालतका न्यायाधीश सकुन्तला घिमिरेको अंग रक्षक रनिता केवटले बोक्दै आएको सात राउण्ड गोली लोड गरिएको चाइनिज पेस्तोल लिएर भागेका प्रेमी सिवेन्द्र यादव पक्राउ परेको हो ।
हतियार लिएर फरार रहेको यादवलाई जनकपुरधाम उप–महानगरपालिका–१५ को रामपुरबाट हतियारसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यादवले प्रयोग गरिरहेका मोवाइल ट्रयाक गरेर लोकेसन पत्ता लगाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
यादवले आफ्ना प्रेमी प्रहरी जवान केवटले बोक्दै आएको हतियार झोलामा हालेर गोठमा लुकाइएको अवस्थामा हतियार फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेको यादवलाई प्रहरीको हतियार लुटेको सन्दर्भमा मुद्दा चलाउन तयारी गरिरहेको प्रहरीले जनाएको छ ।
दुवै जना नवलपरासी जिल्लाका हुन् । जनकपुरधाममा प्रेमी प्रहरी जवान केवटलाई भेट्न यादवले केवटको कोठामा अर्का एक जना प्रहरी जवानलाई देखेपछि दुबैबीच विवाद भएको खुल्न आएको छ । विवादकै क्रममा यादवले केवटले बोक्दै आएको पेस्तोल लिएर गत पुस १ गते फरार भएको प्रहरीले जनाएको छ ।
हतियार हराएपछि प्रहरीले केवटलाई पुस १ गते नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो भने उनीमाथि विभागीय कार्वाहीको तयारीसमेत भएको प्रहरीले जनाएको छ ।
