Friday, May 22News That Matters

फरार अभियुक्त १३ बर्षपछी पक्राउ

सुनसरी, श्रावण २८ 

सुनसरीमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका अभियुक्तहरु १३ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीहरुलाई १३ बर्ष पछी पक्राउ गरेको हो ।

जिल्ला अदालत सुनसरीले २०७१ श्रावण २९ गतेको कर्तव्य ज्यान मुद्धामा दोषी ठहर गर्दै २१ बर्ष ६ महिना कैद सजाय फैसला सुनाईएका बक्लौरी–६ का ३२ बर्षीय तुलसी चौधरी र २० बर्ष कैद सजाय तोकिएका स्थानीय ३२ बर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यी दुबै जना प्रतिवादीहरुले २०६४ साल बैशाख २८ गते साथीको बिबाहमा जन्ती गएको बेला एकम्बा गाविस –४ का सुनेरकुमार ठाकुरलाई सामान्य बादबिबादको बिषयलाई लिएर छुरा प्रहार गरी फरार भएका थिए ।

छुरा प्रहारबाट घाईते भएका ठाकुरको  उपचारको क्रममा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मृत्यु भएको थियो ।

घटनापछि फरार रहेका यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटेको प्रहरी टोलीले २०७७ श्रावण २६ गते शेर्पालाई रामधुनी नगरपालिका–६ बाट र चौधरीलाई ईनरुवा नगरपालिका–४ बाट पक्राउ गरेको जिप्रका सुनसरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी झुम्का कारागार पठाईएको जिप्रका सुनसरीले जनाएको छ ।