
- सुनिल राई, गाईघाट/ पूर्णपुष्टि, असोज २९ ।
त्रियुगा नगरपालिका-४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको फाइनलमा इलाभेन स्टार फुटबल क्लब बोक्से पुगेको छ ।
बुधबार बगाहाको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बगाहा युवा समूहलाई ०-४ गोलले हराउँदै इलाभेन स्टार फुटबल क्लब बोक्से फाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफमा १ गोल गरेको बोक्सेले दोस्रो हाफमा भने ३ गोल थपेको हो ।
बोक्सेका लागि जर्सी नम्बर १२ का रितेश तामाङले पहिलो हाफको ८ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
त्यस्तै दोस्रो हाफको १२ औँ मिनेटमा जर्सी नम्बर ५ का योगेश बिष्टले गोल गर्दै बोक्सेको अग्रता दोब्बर बनाए भने थप गरिएको ६ मिनेटको अतिरिक्त समयको ५ औँ मिनेटमा जर्सी नम्बर १० का रविशंकर चौधरी र ६ औँ मिनेटमा जर्सी नम्बर ३५ का समिर राना मगरले गोल गरे ।
यस खेलको म्यान अफ द म्याच बोक्सेका जर्सी नम्बर १२ का रितेश तामाङ बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे ।
भोलिको दोस्रो सेमिफाइनल खेल आदर्श युवा क्लब नेपालटार र गाईघाट युनाइटेड फुटबल क्लब बीच हुनेछ ।
यस प्रतियोगिताको विजेता टोलीले नगद रु. ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ३१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
