
पूर्णपुष्टि, कार्तिक २२
तत्कालै नियुक्ति भएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आज संसद बाट विश्वासको मत लिने भएको छ । मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेतासमेत रहेका पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि आज बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ ।
गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।
पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको समर्थन छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठका अनुसार बैठकमा समय रहेसम्म सम्पूर्ण प्रक्रिया टुङ्ग्याइने र मत विभाजनसमेत हुने गरी तयारी भइरहेको छ ।
मुख्यमन्त्री पाण्डेले वर्तमान अवस्थामा संसदबाट सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेलाई सरकार जोगाउन वा बहुमतका लागि कम्तीमा ५५ जना सांसदको साथ आवश्यक हुन्छ ।
