
पूर्णपुष्टि, जेठ ५ । उदयपुरको बेलका नगरपालिकामा गतबर्ष सप्तकोशीले धार परिवर्तन गरी बस्तिमा पस्दा बिसौं हजार मानिस प्रभावित बनेका थिए । सोही घटनालाई मध्यनजर गर्दै वर्षा सुरु हुनु अगाडी नै जोखिम न्युनिकरणको पूर्वतयारी थालिएको छ । सप्तकोशीका कारण जिल्लाको नगरपालिकामध्ये बेलका नगरपालिका अतिजोखिम युक्त मानिन्छ ।
प्रदर्शनीकाे भिडियाे :
२०७८ साल साउन १८ गते राती बेलका–८ डुम्रीबोटेबाट पसेको भङ्गालोले १, २, ३ र ९ को बस्तीसमेत डुवानमा परेको थियो । उक्त डुवानमा उद्धारका लागी खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले आज सप्तकोशीमा प्राकृतिक विपद्मा परेका मानिसलाई जोगाउन कृतिम घटना अभ्यास गरेको हो । जिल्ला विपद् ब्यवस्थापन समिति, बेलका नगरपालिका, रेडक्रस सोसाइटी र भोलन्टियर्स क्रस नेपालको संयुक्त आयोजनामा भेलमा बगेका, डुबानमा परेकालाई उद्धार तथा उपचारका कृतिम अभ्यास गरी प्रदर्शन गरिएको हो ।
विपत्तिमा पर्दा आत्तिनु भन्दा उद्धारको विविध उपाय अपनाउन सन्देश दिइएको थियो । प्राकृतिक विपत्ती एक्कासी आइपर्ने भएकाले जोखिम न्युनिकरणका लागि पूर्वतयारीमा रहन सचेत गराइएको थियो । उद्धारकर्मी नहुँदा स्थानीय स्रोत साधन प्रयोग गरी स्वयम्ले बच्ने उपाय सिकाइएको थियो । जिल्लाका सबै सुरक्षा निकायका प्रमुख, सुरक्षाकर्मी, उद्धारकर्मी, जनप्रतिनिधि, विद्यार्थी र स्थानीयले प्रदर्शनीको अवलोकन गरेका थिए ।










