
पूर्णपुष्टि, भदौ ११
भाडामा लिएको जग्गाको सम्झौता सकिए पश्चात पनि जग्गा नछोडेको र उल्टै जग्गा धनीलाई धम्की दिएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जग्गा लिजमा लिएर सोही जग्गाका धनीलाई धम्की दिएको अभियोगमा काठमाडौं प्रहरीले सञ्जय श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठले काठमाडौं महानगरपालिका–१ नक्सालमा रहेको उर्मिलाकुमारी खड्का (शर्मा) को जग्गा भाडामा लिएका थिए । श्रेष्ठले करार सम्झौता सकिएपछि पनि नछाडेको र जग्गाधनीलाई धाक धम्की दिएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताउनुभयो ।

श्रेष्ठले १० वर्षअघि जग्गा भाडामा लिएर अन्य व्यक्तिहरुलाई भाडामा लगाई रकम उठाउने गरेका थिए । करार संझौता सकिएपछि जग्गा छाड्न आग्रह गर्दा श्रेष्ठले जग्गा धनीलाई गाली, गलौज र धम्की दिएको भन्दै उर्मिलाकुमारी खड्काले प्रहरीमा उजुरी गरेकी थिइन् । श्रेष्ठको पृष्ठभूमि गुण्डागर्दी रहेको एसपी बस्नेतले बताउनुभयो ।

