
पूर्णपुष्टि, फागुन २२
अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स रोबोटको यान पहिलो पटक मङ्गल ग्रहको सतहमा परीक्षण यात्रा गरेको छ ।
पृथ्वीमा डाउनलोड गरिएका तस्बिरले रोबोटले छोटो यात्रा गरेको सङ्केत दिएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । एक टन वजन भएको रोबोट मङ्गल ग्रहको सतहमा ओर्लिएको दुई हप्ता पूरा भइसकेको छ ।
अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको झण्डै सात महिनापछि गत फागुन ७ गते मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो । दुई हप्तामा वैज्ञानिकले यानका थुप्रै प्रणालीलाई सक्रिय बनाएका छन् । पर्सिभिअरन्सले मङ्गल ग्रहमा कुनै बेला भएको हुन सक्ने जीवनको प्रमाण खोज्नेछ ।
मङ्गल ग्रहको एक वर्ष (पृथ्वीको लगभग दुई वर्ष) मा १५ किलोमिटर यात्रा गर्ने अपेक्षा गरिएको छ । वैज्ञानिकले कुनै बेला ठूलो ताल रहेको ठानिएको क्षेत्रमा प्राग ऐतिहासिक जीवनको अवशेषको खोजीमा विभिन्न चट्टानको अध्ययन गर्ने प्रयास गर्नेछन् । तर चट्टानहरू खोतलेर हेर्नु अगाडि पर्सिभिअरन्सले विभिन्न परीक्षणहरू गर्नेछ ।
पर्सिभिअरन्स रोबोटले एउटा सानो हेलिकप्टरको उडान पनि गराउनेछ । यानले हेलिकप्टर निकालेर राख्न उपयुक्त ठाउँ खोज्नेछ । हेलिकप्टर यानभित्र तलपट्टिको भागमा रहेको छ ।
