Thursday, July 2News That Matters

मदन भण्डारी राजमार्गमा मोटरसाइकल र ट्रक ठोक्किँदा महिलाको मृत्यु, चालक घाइते

उदयपुर, असार १८ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–७ फुस्रेस्थित मदनभण्डारी राजमार्गमा बिहीबार दिउँसो मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार दिउँसो करिब २ः४५ बजे गाईघाटबाट कटारीतर्फ जाँदै गरेको स ५ प ४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २८४२ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका–३ बस्ने २८ वर्षीय एमबहादुर बिक दुवै हातमा चोट लागेर घाइते भएका छन् । मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २८ वर्षीया यमुना बिक टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर घाइते भएकी थिइन्।
दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा यमुना बिकलाई दिउँसो ३ः४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । चालक बिकको उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक सप्तरीको सुरुङ्गा नगरपालिका–१ निवासी ४४ वर्षीय एकबहादुर खड्का जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।