Tuesday, June 2News That Matters

मध्यराति मोटरसाइकल दुर्घटना : उदयपुरका २४ वर्षीय युवकको ज्यान गुम्यो 

पूर्णपुष्टि संवाददाता
१९ जेठ, २०८३  । उदयपुर
उदयपुरको त्रियुगा नगरपालिका–१२ बुद्धचोकस्थित भित्री सडकखण्डमा गएको मध्यराति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
राति करिब १२ः०५ बजे जनप्रेमी स्कुलबाट बुद्धचोकतर्फ जाँदै गरेको स ९ प ८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई इट्टाको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१२ निवासी २४ वर्षीय हेमन्त सदा गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याइएको भए पनि उपचारकै क्रममा राति १२ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
मोटरसाइकलमा पछाडि सवार त्रियुगा नगरपालिका–१२ सोनापुरका १८ वर्षीय राकेश सदा पनि दुर्घटनामा गम्भीर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको र हाल न्युरो अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ नगर प्रहरी कार्यालय त्रियुगाबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक व्यवस्थापन गरेको थियो। दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।