Monday, June 1News That Matters

सडक सुरक्षा अभियानले दुर्घटना न्यूनिकरण हुदै

पूर्णपुष्टि सम्बाददाता
१८ जेठ, २०८३ । उदयपुर
मदनभण्डारी राजमार्गको उदयपुरखण्डमा एक महिनाअघिदेखि सञ्चालन गरिएको सडक सुरक्षा अभियानले दुर्घटना न्यूनिकरणमा आएको छ । अत्याधिक दुर्घटना भई धनजनको ठूलो क्षती भएपछि जिल्ला ट्राफिक कार्यालय उदयपुरसंगको समन्वयमा नागरिकतहबाट थालिएको अभियानले दुर्घटना न्यूनिकरणमा आएको जिल्ला ट्राफिक कार्यालय उदयपुरका इन्चार्ज प्रहरी निरीक्षक दानबहादुर मिरिङचिङले बताए ।
“सडक सुरक्षा अभियान चलाइसकेपछि दुर्घटनामा धेरै नै न्यूनिकरण भएको छ । सवारी साधन दुर्घटना न्युनिकरणमा चालिनुपर्ने यो एउटा राम्रो कदम हो । सराहनीय छ” उहाँले भन्नुभयो “दुर्घटनाको प्रमुख कारण तिब्रगति हो । यो अभियानले तिब्रगति कम गराएर दुर्घटना न्यूनिकरण गराएको छ ।”
गत वैशाख २२ देखि सुरु अभियान पश्चात दुर्घटनाको संख्या ट्राफिक ग्राफमा घट्दो छ । अभियानपश्चातको एक महिनामा चारपाङग्रे सवारीसाधन पाँचवटा र मोटरसाईकल १० वटा दुर्घटना भएको छ । अभियान सञ्चालन अघिको आकडामा यो संखया दोब्बर कम हो । यसअघि सरदर महिनामा चारदेखि पाँचजना मानवीय क्षती हुने गरेकोमा यो महिना एकजनाको मात्र ज्यान गएको उनले बताए ।
तिब्रगति दुर्घटनाको प्रमुख कारण देखिएको र सडकको अवस्था अनुसार गति नियन्त्रण गर्नु नै दुर्घटना न्युनिकरणको प्रमुख उपाय अभियानको निष्कर्ण रहेको सडक सुरक्षा अभियान उदयपुरकी संयोजक रमा मगरले बताइन् । यहि कुरालाई मध्येनजर गर्दै अभियानताहरुले चालक र यात्रुहरुलाई सन्देश दिने गरेको र चालकहरुले सावधानी सावधानी अपनाउदा दुर्घटना न्युनिकरण भएको छ उनको भनाई छ ।
“निश्वार्थरुपमा नागरिकतहबाट थालिएको यो अभियानले चालक र यात्रुहरुमा साच्चै नै राम्रो सन्देश फैलाएको छ । चालकहरुले सावधानी अपनाएका छन् । जसको कारण दुर्घटनामा न्युनिकरण आएको छ ।” उनले भनिन् ।
संयोजक मगरका अनुसार अभियान अन्तर्गत शुभयात्रा कार्यक्रम सबैभन्दा बढि प्रभावकारी देखिएको छ । चालक र यात्रुहरुलाई घरमा तपाईलाई परिवारका सदस्यहरुले पर्खिरहेका छन् भन्ने स्मरण गराउदै अभियानताहरुले सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी बारे जानकारी दिन्छन् ।
यस अलावा दुर्घटना न्युनिकरण सन्देश प्रवाहका लागि महिला राईडर र्याली, होर्डिङबोर्ड राख्ने, पोष्टर पम्प्लेट प्रदर्शन, हेलमेट र सवारी साधनमा स्टिकर टास्ने, छलफल, बैंठक, समिक्षा कार्यक्रम हुने गरेका छन् ।
सबैभन्दा बढि दुर्घटना हुने स्थल उदयपुरगढी गाउँपालिका –७ अधेँरी क्षेत्र हो । अभियानको सुरुवात यहिबाट गरिएको थियो । स्वतस्फूर्त थपिदै गएका अभियानताहरुले अभियानलाई क्रमिकरुपले जिल्लामा फैलाउदै लगेको अभियानकर्मी रत्ना तामाङले बताइन् । उनका अनुसार गएको आइतबार त्रियुगा नगरपालिका १ फुलजोरमा शुभयात्रा कार्यक्रम गरिएको थियो । यस कार्यक्रमलाई क्रमिकरुपले जिल्लाको अन्य दुर्घटना जोखिमस्थलहरुमा सञ्चालन गर्दै लगिने उनले बताइन् ।
केही समयअघि महिला राईडरहरुले गाईघाटदेखि कटारीसमम्म ५० किलोमिटर यात्रागरी सडक सुरक्षा सन्देश दिएका थिए । त्यसक्रममा अति दुर्घटना जोखिमस्थल अँधेरी क्षेत्रमा “स्लो डाउन” लेखिएको बोर्डहरु राखिएको थियो । यस्तै सन्देशमुलक सिर्जनशिल गतिविधिहरु अभियान अन्तर्गत भइरहेको अभियानकर्मी जानुका दाहालले बताइन् ।
चारवर्षदेखि सञ्चालनमा आएको यस राजमार्गमा अत्याधिक मात्रामा नागवेली आकारका घुम्ति छन् । घुम्तिसंगै चिल्लो र ओरालो भागमा दुर्घटना हुने गरेको छ ।
हालसम्मको दुर्घटना क्षतीको तथ्यांक हेर्दा कहाली लाग्दो छ । पछिल्लो तीन आर्थिकवर्षमा उदयपुरमा ९२२ वटा दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने एकहजार ८४८ जना घाइते बनेका छन् । एकहजार २४९ वटा सवारी साधनमा क्षती भएको छ । जसमा नब्बेप्रतिशतबढि दुर्घटना र क्षती मदनभण्डारी राजमार्गमा भएको ट्राफिक प्रहरीको तथ्यांकले देखाउछ । कहाली लाग्दो यो तथ्यांकलाई सडक सुरक्षा अभियानले थालनीको पहिलो महिनामै घटाउन सुरुवात गरेको छ ।