माइली गाथा–१ (आख्यान–आलेख)

यतातिर माइली बेलाबेलामा माइलोसँग निहुँ खोज्दै कचकच–कचकच गर्छे । “मैलेप्रति गोटा दुइसय सत्तरी दिन बोकेर भारी बिसाएको एघार दिनमै तिमीले त्यो सबै आफ्नै नाममा नामसारी गरयौ । मलाई यो मन परेको छैन नि, सुनीराख ।” भन्दै बेला–बेलामा रोइलो मच्चाउँछे । उता माइलोपनि मुढेबलको जवाफ पछार्छ, “तेरो के बिगारें मैँले दुईकोठाउँमा तीन बनाएँ । तेरो नाममा पास गरिदिन्छु, आटँ गर्छेस ?”  पछि ठाँइलाबा जस्तै तिम्रोपनि मति बिग्रेला जस्तो छ भन्दै भुत्भुताउँछे माइली ।

बालकृष्ण काफ्ले

किर्तिबहादुर खड्का गुरुकी चौधर्नी माइली भाउजू सम्झन्छु । घरमापनि माइली भएको हुँदा मलाई अलि सजिलो छ । घरकी माइलीआमा (माइलेमा), माइली बडिआमा (बडेमा), माइली काकी, माइली मित आमा, माइली ठुलीआमा (आमापट्टि) माइली दिदी, माइली फुपू, माइली फुपू आमै, माइलीबहिनी, माइली छोरी, माइली भतिजी, माइली भान्जी, माइली मित बहिनी, माइली मित दिदी, माइली मित छोरी, पल्ला घरे माइली, माथ्लाघरे माइली, खोल्सा पारी माइली, कटहर–डाँडे माइली, बाहुनी माइली, कजिनी माइली, सुब्बिनी माइली, मल बोक्ने जरुवाकी दमिनी माइली, मगर्नी माइलीहुँदै थुप्रै “माइली” मध्ये घरकी माइली मेरोलागि प्रेरणाकी स्रोत । यति धेरै माइलीको रास र चाङ्मा पनि कता कता निक्कै माइलीहरु यहाँ उपस्थित गराउन सकिनँ । वंश, परम्परा र पुस्ताको विस्तार यसै–यसै तरिकाले हुँदो रहेछ् । माइलीहरु मध्ये रङ, वर्ण, स्वभाव, चरित्र, आचरण अनुसार खोज कसले गर्ला ? यो चिन्ता छ । अन्याय नै हुने गरी माइली माथी जथाभावी लेख्न–भन्न पनि त मिलेन । सन्तान विस्तारमा संसारका सवै जीवहरुमा दर्जाले जुन काममा भएपनि स्त्री÷पोथी जाति नै मूल स्रोत र संरक्षक, पालक, पोषक हुन् । खास गरी सन्ततिका हकमा जवरजस्ती मानव समूहमा पुरुष प्रधानता कायम गरिएको हो । अन्य जीवमा यस्तो छैन, ठीक उल्टो छ, स्त्रीप्रधानता छ । हुनुपर्र्ने पनि यसै हो ।

अबको प्रसंग दुई जनाको । समाजमा माइली भन्दा माइलो धेरै गुणा शक्तिशाली, प्रभावशाली र रापिलो, ढाकिलो छ । माइलीलाई उसले जवरजस्ती माइली बनायो । माइलोले एकलौटी, मनोमानी, कसैलाइै नभनी स्वयम् माइलीलाई समेत नभनी नसोधी कन ठाँइलीलाई माइली बनाइछाड्यो । केही मेहनत खर्चेन, घरमा धानको मुट्ठि माथीको बत्ति टेकाउँदै माईली बनायो । चुल्ठो जोड्दापर्दा, छेक्दा, मझेरी टेक्दा र बाहिरी सारी फेर्दा त ठाँइली चुर्लुम्मै डुवेर असहाय माइली पो भइछ । भोलिपल्ट बिहान उठेर घर कसिङ्गर गर्नु अघि नै उज्यालो भुकभुक नभै के के हो के के ? अचेल यी माइला–माइली न्याय–अन्याय त्यस दिनको खोजी गर्दैनन् । किनकी प्रेमरसले माइतीपट्टीको ‘ठाँइली’ पद उनले श्रृंगार रसमा मिसाएर साटेकी थिइन् । त्योपनि दशक कटेछ । उनीहरु दुवैजना नजानी नजानी हिलोको खाल्टोमा डुबी सके । तर, पत्तो पाएको भए मर्नु । “दुई सन्तान ईश्वरको वरदान ” भन्दा भन्दै ठाँइली त परै जाओस् माइली पनि जन्मिन विज्ञानसँग हारी सकिन् । ती दुई जना समाजमा “दुईसन्तान ईश्वरको वरदान ” भन्ने मापदण्डमा अब्बल,पुरस्कृत हुन पो बेर छैन । तीनका बाआमाले त्यसै भनेका र गरेका भए आज के हुन्थ्यो ? कहाली लाग्छ । डर लाग्छ । भयभित हुन्छ । म थर्थर काँप्छु । पूर्वीय समाजमा वंश बिस्तार वहु आयामिक छ । ता कि सबैलाई ठाँउ पुग्छ । बाँच्नको लागी अर्काको दर्जा हडप्नै पर्दैन ।

स्त्री प्रधानतामा सृष्टि चल्नुपर्छ । कुनैपनि जनावरले बाबुको पहिचान राख्दैन डि.एन.ए.सम्म नपुग्दा । मान्छेमा मात्रै बाबु ठीक ठाँउमा भेटिन्छ अरुमा न भेटिन्छ न खोजिन्छ । न सर्जमिन मुचुल्का नै उठाइन्छ । नेपाली शब्दकोशलाई मैले थोरै दुरुपयोग गरें किनभने मैले खोजको सुरुमै चरम फँट्याइँ र अनियमिता गरें । त्यो भनेको ‘जेठो’ बाट खोज्न थालेँ । परम्परा पनि नबिगार्ने गरी माइलाबालाई सिरानी राख्दा मलाई कसैले हातपात र लछारपछार गर्नै सक्दैन । किनकि माइलाबा पहिला देखि अहिले सम्म धनवान, बलवान र प्रतापी हुनुहुन्छ । गाँउका सबैले हातमा ‘जीउ’गर्छन् । कुरा काट्नै सक्दैनन । आफू ढुक्क छु । सुरक्षित छु । जेठो माइलो, साँइलो, काँइलो, ठाँइलो, राँइलो अन्तरे, जन्तरे, लखन्तरे , कान्छो गरी दशौ स्थानसम्ममा माइलाकै पक्षको पहुँच छ समाजमा । माइलीको जोडतोड चल्दैन । त्यस्तै सान्दाजु ठूल्दाजु, ठूले, साने , ठूलो कान्छो, सानो कान्छो, सानठूले, ठूुल्नानी सबै र होचा दश भाइ भागरे भाग हुन्छन् । माइली त धेरै बोल्ने कुरा परै छाडौं, ठूलेबाउ जंगिए भने बात लगाएर मल बोक्ने माइलीतिर पो मिलाइदिन्छन् । म पनि जे सुकै होस् ठूलेबाउपट्टिनै लाग्छु । खुट्टा भए जुत्ता कति–कति ।
समाज रुपान्तरणमा आज अबैज्ञानिक, झुट र कुरुप बनाउँदा मलाई अमिलोपन बढेको छ । अब ठाँइलीले आफ्ना माइतीतिरका सबै दर्जाका दिदी–बहिनी बोलाएर आँपडाँडामा तिजकादिन फलफूल बाँड्ने, खाने, खुवाउने र ठाँइली बज्यैलाई प्रणाम गरी ठूलै सम्मेलन गर्नुपर्छ । सवै दिदी बहिनीलाई “दुई सन्तान ईश्वरको बरदान”भन्ने कुराको घाटा–नाफा छर्लङ्ग पार्नुपर्छ, अनि ‘पञ्चमी’ लिन छाड्नु पर्छ । पञ्चमी लिने कुरा चन्द्रमाको चक्रसंग सीधा सम्वन्ध राख्छ, ठूलेबाउ पनि संयोग पञ्चमीकै दिन आफ्नो त्रियासी बर्षीय जन्म दिन मनाउन पुरोहित र अन्तरे दमाई बोलाउन हिँडी सक्नुभो । मलाई पनि निम्तो छ, यो कोसेली ठूलोबाउको जन्मोत्सवमा पछार्ने हो, कुटाइखाएपनि कोसेली बाँडेरै छाड्नु छ । तर, ठाँइली(आजकी माइली)का हातबाट ।

ठाँइली बज्यैको पिडा बेग्लै छ, ठाँइलाबाले जवानी पोख्न अन्तर जातीय विवाह गरी दमिनी ल्याएपछि पण्डितबाको प्रताप स्वाह । मगर्नीसम्म पचाएको समाज, तेस्रो भित्रिनी त पानी अचल पो जोडे । कोही बोल्न नसक्ने । अंशचार गरा बारी बाहुनीलाई, पाखो खेत मगर्नीलाई हुँदै गैरी ढाँडे खेत कान्छी मैयाँ दमिनीको भागमा पो पुरयाए उनले । ठाइँली बज्यै ब्राम्हण परिवारकी छोरीबुहारी हुनाले गीतासम्म पाठ गर्न सक्छिन् । बेला बेला उनी “कर्मणो ह्यपी बोध्धव्यं, बोध्धव्यं च विकर्मण ! अकर्मणश्च बोध्धब्यं, गहणा कर्मणोगति : ।” भन्दै कर्म, अकर्म र कुकर्म सबैको स्थान बराबर छ र कर्मको गति गहन छ, भन्छिन्, यो उनका लोग्नेको पराकाष्टा, चल्ती फिर्तीको नासो ।
यतातिर माइली बेलाबेलामा माइलोसँग निहुँ खोज्दै कचकच–कचकच गर्छे । “मैलेप्रति गोटा दुइसय सत्तरी दिन बोकेर भारी बिसाएको एघार दिनमै तिमीले त्यो सबै आफ्नै नाममा नामसारी गरयौ । मलाई यो मन परेको छैन नि, सुनीराख ।” भन्दै बेला–बेलामा रोइलो मच्चाउँछे । उता माइलोपनि मुढेबलको जवाफ पछार्छ, “तेरो के बिगारें मैँले दुईकोठाउँमा तीन बनाएँ । तेरो नाममा पास गरिदिन्छु, आटँ गर्छेस ?”  पछि ठाँइलाबा जस्तै तिम्रोपनि मति बिग्रेला जस्तो छ भन्दै भुत्भुताउँछे माइली । अस्तिका दिन पञ्च बसेका ठाउँमा माइलीका दुवै भदालाई ठूलेबाउले ‘साइबर क्राइम’ भन्ने निहुँमा एक हप्ता प्रहरी थुनामा जाकेपछि माइली झन आगो भएकी छे । हुनपनि ठिकै हो । ठुले बाउलाई साईवर क्राईम के थाहा । मुुुढ पेलाइ गरेर “साबार कराईँ ”भन्दै उफ्रिँदै गरे ठुलेबाउ पञ्च बसेका ठाँउमा, लाज मर्दो ! केटाहरु डरले कोही नबोल्ने, माइलोलाई मितले एउटा मोवाईल साउदीबाटै ल्याएर दिएकाले अलिअलि थाहा त थियो. के हो साईवर क्राईम ? तर ठुलेबाउसंग तीन किलो मासु र छ सय रुपैँया अनि बाह्र पाथी धान दशैका लागी मागिसकेको रहेछ, विचरा के बोलोस् । ठूलेबाउकै ससुराली गाँउको चमार राम सुन्दास ईन्स्पेक्टर रहेछ । बुढाकै कुरा सुनुवाई भयो, दुबै भदाको नाहाकमा विजोग ।

माइली अब माइलोलाई बेला बेला धम्की दिन्छे। “म अब तिम्रो पाटीमा बस्दिन, तिम्रो धर्म मान्दिन,किन बाठो भएर ठुलेबाउसँग रिन माग्यौ ? ठाँइली बज्यैकोबाट ल्याँउदा काम गरेर सदाउँन पाइन्थ्यो । ठुलेबाउ अब दिनैपिच्छे तिमी घर नभएको बेला आउँछन् । मलाई पो जीउ जोगाउन मुस्किल छ, काले र माटी सानै छन् । के गर्नु ठाँइली बज्यैले पनि उता रिन खान खोजेको थाहा पाइछिंन्, रिसाएर खप्नु छैन । अब म बितेँ ।”माइली अली ढुक्क छे, किनभने तिज–पञ्चमी फुकुवाक हुँदै खुकुलो भा’छ । अव बिस्तारै– बिस्तारै दशैं तिहारपनि कम बोझिलो बन्ला । एक दुई वर्ष जीउ जोगाएँ भने ठुलेबाउपनि रोगाउलान्, ढुक्कै हुन्छ् । माइलो खासै पिर पिराउ मान्दैनकिनकी भित्र भित्रै ऊ आफ्नै दाउमा छ । ठाँइलीलाई सजिलै माइली बनाएर हालीमुहाली त उसले गरेकै हो । अब उसलाई जागिरपनि मिलेकै छ ।
महिला अधिकारकर्मी नेतृले महिनाको तेह्र सय पचास दिने भइन् । काम चिया पकाउने, अफिसको सरसफाई गर्ने आदि आदि । के गर्नु गरिबी ! माइलाको हर्के (साँइलो भाइ)ले चारजोर जुत्ता फटाइसक्यो । माइलोपनि आजित छ केटी पाइँदैन । जन्मदै खुनी जन्मियो । दुवै हात गोगनका थुर जस्ता छन् । के पाइयोस् केटी ? एक हात सग्लो भएकीले टेरिन, तीन पाउ बिग्रिएकी डल्लीलाई यसले विहे गर्न मानेन । अब योपनिबाँझै बस्लाकी जस्तो छ । भन्नत दिनका तिन पटकमा नघटाई “माइली भाउजू , ठूले बाउलाई तँपाईले भनिदिए पाखालीकी डल्ली मिलाइदिन्थे कि, अचेल तँपाई कहाँ ठूले बाउ बाक्लै आउछन् त ?”
बिचरा साँइलालाई के थाहा ठूले बाउ के कोधावन्तिमा छन् भन्ने कुरा । माइलीले पनि सुइँको त पाएकै छे, देवरलाई भन्न नमिल्ने । साँइलो ठुल्दाजुकाँ बसेर लाखार लुखुुर काम गर्छ, एक पतरी खान पाएको छ । साँझ परयो ! माइलीको माइलो त उँधो मुन्टो मात्र लाउँछ ।

“के भयो तिमीलाई ?” माइली कड्कन्छे । माइलो गहभरी आँशु पार्दै पिडा पोख्छ, “अब झन् बिजोग हुने भो, परिवार नियोजनका साधनपनि मेरै हाकिमले बन्द गराउने भई, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ परिवर्तन हुने रे । दुई सन्तान इश्स्वरको बरदान –को सट्टामा बहुसन्तान सबैको कल्याण –लेखिने भो अरे । अब कि हामी बुढाबुढी घरमा र गोठमा सुतौ  कि ग्वार–ग्वार केटाकेटीको डफ्फा बनाऊँ, तेरै जिम्मा । म मर्ने भएँ । पीर माथि पीर ।”
नरेन्द्र सरले ‘फोके घर्ती मरयो ’ भन्ने खबर गरे,अब फोके र फोकेको छोरो सार्केले परबाट बोकी ल्याएको गारो भित्रका ढुंगा मुसार्दै घोत्लिन्छ माइलो । बाहाँका काठ फोकेकै, धरिन फोकेकै, आँगन–दलान फोकेकै, मझेरी र चुल्हाका दुई ढुंगा फोकेकै, छानोको सालीमो फोकेकै । अब माइली र माइलो पीरले सिद्रा सुकेझैं सुक्ने भए । कला, श्रम, सिप गरिबको, ठूलो घर ठूलेबाउको । (बाँकी भाग–२ मा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: