Saturday, May 16News That Matters

मानव बेचबिखनमा पर्न सक्ने भन्दै प्रहरीले जेठमा मात्रै ९८८ जनालाई विमानस्थलबाट फर्कायो

पूर्णपुष्टि, असार २ । मानव बेचबिखनमा पर्न सक्ने भन्दै प्रहरीले ९८८ जनालाई घर फर्काएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जेठ महिनामा मात्रै ९८८ जनालाई अन्तराष्ट्रिय विमानस्थलबाट घर फर्काएको एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

भ्रमण भिसा वा नक्कली श्रम स्वीकृत बनाएर वैदेशिक रोजगारीमा जान लागेकाहरूलाई मानव बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै परामर्श दिएर घर फर्काईएको एसएसपी श्रेष्ठले बताए । गत माघ यतामात्रै प्रहरीले ३ हजार ७६४ जनालाई परामर्श दिएर फर्काएको छ । जसमध्ये ३४ जनालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत फर्काएको छ भने गत माघमा २५० जना, फागुनमा ५५७ जना, चैतमा ६५३ जना र वैशाखमा ३१४ जनालाई फर्काईएको ब्युरोले जनाएको छ ।

ब्युरोले मानव बेचबिखनमा परेकाहरूको उद्धार गर्दै आईरहेको छ भने मानव बेचबिखनको जोखिमलाई मध्यनजरमा राखेर जोखिममा पर्न सक्नेलाई पहिचान गरी विमानस्थलदेखी नै फर्काउन थालेको हो । मानव बेचिबिखनमा पर्ने धेरै जसो भ्रमण भिसामा गएका मानिसहरु पर्ने गरेको र वैदेशिक रोजगारका लागि जाँदा अलपत्र पर्ने, श्रम शोषण, यौन हिंसामा समेत पर्ने गरेका छन् ।