Tuesday, June 30News That Matters

मिटर ब्याजसम्बन्धी विधेयक कार्यसूचीमा एमालेको अवरोध

पूर्णपुष्टि, २९ असार ।
नेकपा एमाललेका कारण मिटर ब्याजसम्बन्धी विधेयक कार्यसूचीबाट हटाइएको छ। प्रमुख प्रतिपक्ष दल समेत रहेको एमालेको अवरोधका कारण शुक्रबारको प्रतिनिधिसभाको बैठकमा मिटर ब्याजसम्बन्धी विधेयक हटाएर अन्य विषय कार्यसूचीमा राखिएको छ।

यो विधेयक पारित गर्ने दिन गत असार २० गते एमालेले सदन अवरुद्ध गरेको थियो जसका कारण सरकारले अध्यादेशमार्फत ल्याएको कानुन निस्क्रय छ। अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयकलाई गत असार २०, २२ र २४ गते पारित गर्ने कार्यसूची राखिए पनि एमालेले संसद् अवरुद्ध गरेपछि रोकिएको हो।

असार २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्टीकरण दिएसँगै सदन सञ्चालन भएको थियो। सो दिन पनि सम्भावित कार्यसूचीमा मिटर ब्याजसम्बन्धी विधेयक पारित गर्ने विषय राखिएको थियो। तर, प्रधानमन्त्री दाहालले बोलेपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भयो। त्यसपछि शुक्रबार १ बजे बोलाइएको संसद् बैठकको सम्भावित कार्यसूचीबाट पनि यो विधेयक हटाइएको छ।

स्रोतका अनुसार, एमालेका तराई केन्द्रीत केही धनाड्य सांसदको लबिङका कारण यो विधेयक रोकिने देखिएको छ। एमालेका रघुवीर महासेठ, लीलानाथ श्रेष्ठलगायतका सांसदको दबाबका कारण एमालेले यो विधेयकलाई जस्ताको तस्तै पारित गर्न नदिने भएको छ। प्रतिस्थापन विधेयक समितिमा लगेर सडाउने तयारी एमालेको रहेको स्रोतको दाबी छ।