Monday, April 20News That Matters

मुटु स्वास्थ्य राख्नृ के खाने, के नखाने ?

पूर्णपुष्टि, १६ असार ।
मुटु मानव शरिरको अत्यावश्यक र महत्वपूर्ण अंग हो । मुटु रोगबाट मुक्ति पाउन दैनिकी र खानपानमा बिषेश ध्यान दिनु पर्ने चिकित्सकहरु बताउँछन् । उसोत वंशाणुगत, उच्च रक्तचाप, मधुमेहका कारण पनि मुटुरोग लाग्न सक्छ । तर मुटुरोगको प्रमुख कारण भने खान पाननै रहेको बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. राजेन्द्र कोजुले बताउँछन । यो सँगै शारीरिक व्यायामको कमी, तौलको कारण पनि मुटुरोग लाग्ने सम्भावना रहेको कोजु बताउँछन् ।

मुटु स्वास्थ्य राख्न के खाने ?

हरियो सागपात : मुटु स्वस्थ राख्न चम्सुर, पालुङ्गो, मेथीको साग, रायो, तोरी, फर्सीको मुन्टाजस्ता हरियो सागपात लाभदायक हुन्छन् । यी तरकारीमा उच्च मात्रामा भिटामिन, खनिज पदार्थ, न्युट्रिसियन पाइने भएकाले रगतलाई जम्न र रक्तचाप घटाउन मद्दत गर्छ । हरियो सागपात दैनिक खानामा समावेश गरे मुटुरोग लाग्ने सम्भावना निकै कम हुन्छ ।

फलफूल : फलफूल चिनीको मात्रा कम र बढी हुने दुई प्रकारका हुन्छन् । मुटुका लागि चिनीको मात्रा कम भएका फलफूल उपयुक्त हुन्छ । यसमा बेरी प्रजातिको अंगुरलगायत फलफूल पर्छन् । बेरीले रक्तनलीको भित्री पत्रलाई पनि स्वस्थ बनाउँछ ।

फाइबरयुक्त खानेकुरा : फाइबरयुक्त खानेकुरा मुटुलाई स्वस्थ राख्न उपयुक्त हुन्छ । फाइबरयुक्त खानेकुराले रगतमा कोलेस्टेरोल र ग्लुकोजको मात्रा कम गराएर रक्तनलीमा खराब कोलेस्टोरोल जम्मा हुन दिंदैन । फाइबरयुक्त खानेकुरा जस्तै गेडागुडी, गाँजर, जौ, फलफूल, ड्राइफ्रुट, बोक्रासहितको फलफूल, ब्रोकाउली, गाँजर, हरियो सागसब्जी, काउली, च्याउ, कुरिलो, हरियो केराउ हुन् । छोक्रासहितको गहुँको पिठो, काफल, सुन्तला पनि फाइबरको राम्रो स्रोत भएकाले दैनिक खानु उपयुक्त हुन्छ ।

प्रोटिनयुक्त माछामासु : प्रोटिनको राम्रो स्रोत माछामासु सन्तुलित रुपमा खान सकिन्छ । तर यसमा बोसोको मात्रा भने न्यून हुनुपर्छ । माछामासु दैनिक भन्दा पनि सन्तुलन मिलाएर खान सके लाभदायक हुन्छ । त्यस्तै दाल र गेडागुडी पनि खानमा दैनिक समावेश गरे मुटुरोगबाट बच्न सहयोग पुग्छ ।

मुटु स्वास्थ्य राख्न के नखाने ?

मुटु स्वास्थ्यका लागि ध्यान दिन यी वस्तुहरुलाई कन्ट्रोल गर्नु पर्ने हुन्छ । धेरै नुनिलो, चिल्लो, कार्बोहाइड्रेट धेरै भएको, रातो र बोसोयुक्त मासु, जंकफुड, गुलिया खानेकुरा, तारेको, भुटेको खानेकुरा मुटुका लागि हानिकारक हुन्छन् । त्यस्तै अत्यधिक माछामासु सेवन, धुम्रपान र मद्यपानले पनि मुटुलाई हानि पुर्‍याउँछ । हरेक रोग लाग्नुमा खानपानकै मुख्य भूमिका हुन्छ । उदाहरणको लागि यदि कसैलाई १० प्रतिशत मुटुरोग लाग्ने सम्भावना छ भने खानपानमा ध्यान दिएमा २(३ प्रतिशत मात्रै यसको सम्भावना हुन्छ । त्यसैले खानपानका साथै शारीरिक व्यायाम, तौल घटाउन सकेमा र धुम्रपान मद्यपान छाड्न सकेमा धेरै हदसम्म मुटुरोगबाट बच्न सकिन्छ ।