
पूर्णपुष्टि, फागुन २७ ।
झापाको मेचीनगरपालिका–५ पिपलडाँडा चौकको बाझो खेतमा फागुुन २५ गते मृत फेला परेकी स्थानीय ५६ वर्षीया अम्बिका कुँवरको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको मेचिनगर–५ का २७ वर्षीय रण बहादुर बस्नेतलाई कुँवरको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
फाल्गुन २५ गते बेलुकी ४ बजे घाँस काट्न गएकी कुवँर साँझ घर नफर्किएपछि कुँवरको श्रीमान जगत कुवरले खोजतलास गर्दै जाँदा घर देखि २ सय मिटर टाढा रहेको बाँझो खेतमा राती पौने ८ बजे मृत अवस्थामा फेला पारेका थिए ।
घटना बारे प्रहरीलाई खवर प्राप्त हुनासाथ तत्काल घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र संघिय प्रहरी ईकाई कार्यालय धरान डग शाखाको तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन भई घटनाको अनुसन्धानको क्रममा बस्नेतलाई नियन्त्रणमा लिएको हो ।
मृतक लाशको कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी स्वास्थ्य बिधिबिज्ञान प्रगोगशाला धरान सुनसरी पठाईएको छ । पक्राउ परेका बस्नेतको झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
