
पूर्णपुष्टि, फागुन २७ ।
गोरुले हानेर गम्भीर घाइते बनाएका एक जना पुरुषको उपचारकोे क्रममा ज्यान गएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ५० वर्षीय असुरध्वज राईको बुधवार राती ज्यान गएको हो ।
चराउन लगेको बेला गोरुले बुधवार बिहान हान्दा गम्भीर घाइते भएका राईको फेमिली केयर अस्पताल दिक्तेलमा उपचारको क्रममा ज्यान गएको थियो । मलका लागि आफन्भबाट ल्याएर पाल्न थालेको केही दिनपछि नै राईलाई गोरुले हानेको हो । गोरुको सिङले पेटको देब्रेतिर छेड्दा आन्द्रा बाहिर निस्केको आफन्तले बताएका छन् ।

घाइतेको बाहिर निस्केको आन्द्रालाई फेमिली केयर अस्पतालमा इमरजेन्सी अपरेसन गरेर पूर्ववत् अवस्थामा फर्काइए पनि बचाउ नसकिएको जनाइएको छ । आर्थिक अवस्था कमजोर भएका कारण छिमेकी तथा शुभेच्छुकले सहयोग उठाएर उपचार सुरु गरिएको थियो ।
