Wednesday, January 14News That Matters

मेहनत र संघर्षका एक प्रेरणा : सशस्त्र प्रहरी निरीक्षक मोहनकुमार भट्टराई

नगरपालिका भएपनि सञ्चार, सुचना र अन्य विकासबाट बन्चित ठाउँ हो दमौटी गाउँ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ मा पर्ने दमौटी गाउँ जङ्गलभित्रको एकान्त ठाउँ हो । समथर ठाउँमै भएपनि हरेक कुराले बन्चित ठाउँ भएकाले दुर्गम ठाउँकाे रुपमा रहेकाे छ ।
त्यस्ता ठाउँमा सामान्य परिवारमा जन्मिएर हुर्केका एक युवाकाे सफलताकाे कथा राेचक छ । सामान्य गाउँकाे युवा, जाे आज सुरक्षा अधिकारीको स्तरमा पुगेका छन् । आमयुवाका लागि याे ठुलै सफलताको कथा हो । सशस्त्र प्रहरी नीरिक्षक मोहनकुमार भट्टराई, जाे सामान्य जीवनबाट स‌घर्ष गर्दै यो स्तरसम्म पुग्नका लागि सामान्य मेहनत र सामान्य संघर्ष थिएन ।
उनी सानैदेखि अत्यान्तै लगनशील र मेहनती थिए । कृषिमा निर्भर बाबुआमाले दुःखले पढाए । सानैदेखि बुवाआमाको दुःखको साँछी हुँदै आएका उनी निरन्तर भविष्यमा केही बन्छु भन्ने लक्षमा लागिरहे । त्यसका लागि दुःख मेहनत गरेर पढाइमा लगाव दिए । १० कक्षासम्मको पढाई गाउँकै विद्यालय श्री जनता माध्यामिक विद्यालय दमौटीमा पुरा गरे । एसएसली त्यहाँबाट उतिर्ण गरे । कक्षामा सधै प्रथम हुने उनी एसएलसीमा पनि उच्चतम् अंकका साथ उर्तिर्ण भए । प्लस टु गाईघाटस्थित त्रियुगा माध्यामिक विद्यालयबाट पुरा गरे अनि थप पढाइ र जीवनकाे थप खुड्किलाका लागि काठमाडौंमा संघर्ष सुरु गरे । त्यहाँ लोकसेवा आयोगको तयारीमासमेत लागे । त्यसै सिलसिलामा २०७६ सालमा सशस्त्र प्रहरी सहायक निरिक्षक पदमा भिड्ने अवसर मिल्याे । सफलताको भोक र संघर्षको पाइला तिब्ररुपमा चलिरहेको अवस्थामा गर्नसम्म मेहनत गरे । फलस्वरुप सशस्त्र प्रहरी सहायक निरीक्षकमा नाम निकाल्न सफल भए ।

त्यसपछि पनि पढाइलाई निरन्तरता दिन छाडेनन् उनले । त्रियुगा जनता बहुमुखी क्याम्पसबाट थप अध्ययन बढाए । संगसंगै पेशागत तालिम र अहोरात्र डिउटी खट्दै पनि स्नातक तहसम्मको पढाई पुरा गरे । पढाईलाई सदुपयोग गर्दै सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी निरीक्षक पदमा भिडे । फेरी पनि कडा मेहनतको परिणाम स्वरुप पहिलो पटकमै सशस्त्र प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भए । त्यो पनि टप टेनभित्र । याे उनी र उनकाे परिवार, साथिभाइ र नरनाताका लागि चानचुने खुसीकाे कुराे हाेइन । उनले पाएकाे याे थप अर्काे सफलताले भावि दिनमा पनि सफलताकाे सिढी बढ्दै जानेछ भन्नेमा विश्वास मिलेकाे छ ।

मेहनत गर्नेका लागि सफलता मिल्छ भन्ने उनी एक गतिलो उदाहरण हुन् । अथक मेहनत र संघर्षका प्रेरणा बन्न सफल भएका छन् । थप सफलता र प्रगतीका लागि शुभकामना !

गाेविन्द भट्टराई
२३ कार्तिक २०८२