Thursday, April 30News That Matters

मोरङ कारागार भित्र एक कैदीको ‘शङ्कास्पद’ मृत्यु

पूर्णपुष्टि, कार्तिक २६
बुधबार राति मोरङ कारागार भित्र एक जना कैदीको ‘शङ्कास्पद’ मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा ६ बर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङ रतुवामाई नगरपालिका–१० साविक इटहरा–८ का ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो ।
निमित्त जेलर राम पोखरेलका अनुसार थापालाई पेट दुखेपछि उपचारका लागि बिहीबार राति १ बजे कोसी अस्पताल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको हो । मृतक थापाको शव कोसी अस्पतालमै राखिएको छ । उनले आफन्तलाई शब बुझ्नन बोलाएको बताएका छन् । आफन्तले शब पोष्टमार्टम गर्ने कि नगर्ने भन्ने बिषयमा समेत छलफल नभएको पोखरेलले बताउनुभयो ।
मोरङ कारागारभित्र केही दिनअघि मात्रै कैदीबन्दीहरूको दुई समुहबीच झडप भएको थियो । कात्तिक मण्डलको नेतृत्वमा चौकीदार किरण गुरुङसहित नाईके र भाईनाइकेहरूलाई नियन्त्रणमा लिएर कुटपिट भएपछि झडप भएको थियो । झडपमा थापा संलग्न थिए थिएनन् भन्ने खुलेको छैन । थापाको कुटपिटबाट मृत्यु भएको हुन सक्ने उनका भाइ हरि थापाले बताउनुभयो ।
मृतक नारायणका नातामा काका पर्ने शंकर थापाले भतिजाको हत्या रहस्यमय रहेको बताएका छन् । बिरामी भएको जनाकारी नगराई मरेको मात्रै सूचना दिनुले शंका उत्पन्न भएको उहाँले बताउनुभयो ।