Thursday, July 2News That Matters

यती एअरलाइन्सले १ दशकपछि सिमरा उडान भर्दै

पूर्णपुष्टि, असोज १६

निजी लगानीको यती एअरलाइन्सले एक दशकपछि सिमरा उडान भर्ने भएको छ । आफ्नो २२ औँ वार्षिक उत्सवमा घोषणा गरे अनुसार यतीले १२ वर्षपछि आगामी २१ गते बुधबारदेखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो ।
कोरोना सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागिएको एअरलाइन्सले जनाएको छ ।

सिमरा उडान भर्ने विषयमा सम्बन्धित निकायसँग स्वीकृत लिइ असोज २१ देखि दैनिक २ उडानमार्फत सेवा विस्तार गर्ने जनाईएको छ ।

यतीले सिमरामा जेटस्ट्रिम–४१ विमानमार्फत हरेक दिन बिहान ९ बजे र दिउँसो ४ः४५ मिनेटमा काठमाण्डौदेखि उडान भर्दैछ । तत्कालका लागि काठमाण्डौ–सिमरा–काठमाण्डौको एकतर्फी भाडा २ हजार आठ सय रुपैयाँ तोकिएको छ ।

२०५५ सालदेखि यात्रुलाई सेवा प्रदान गर्दै आएको यती एअरलाइन्समा अहिले एटीआर–७२ सिट क्षमताका ५, जेटस्ट्रिम–३० सिटका ५ र भगिनी संस्था तारा एअरका ट्वीनअटर विमान ४ गरी १४ विमान सञ्चालनमा रहेका छन् ।
यती एअरलाइन्सका विमानले अहिले पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटार, काठमाण्डौ र पोखराबाट पर्वतीय उडान तथा तारा एअरले हिमाली तथा पहाडी भाग लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरालगायत विमानस्थलमा सेवा प्रदान गर्दै आएको एअरलाइन्सले जनाएको छ ।