पूर्णपुष्टि, माघ २७ ।
यातायात ब्यवस्था कार्यालय, गाईघाटले प्रहरी, प्रशासन, स्थानीय सरकार र ब्यवसायीको समन्वयमा सवारी चेकजाँच गरी सवारी सचेतना जगाउदै आएको छ ।
आज पूर्व–पश्चिम मदनभण्डारी राजमार्ग र शिद्धिचरण राजमार्गको संगमस्थल कटारीमा चेकजाँच गरेको छ । सो क्रममा करिब पाँचसय सवारीसाधनको चेकजाँच गरी चालक तथा यात्रुलाई सचेतना दिइएको थियो । यसक्रममा नियम उलंघन गर्ने ५५ वटालाई कारवाही गरेको थियो । कारवाहीमा ४० हजार जरिवाना अन्तर्गत राजस्वसमेत संकलन भएको छ ।
सवारी साधन र त्यसका कागजपत्र चुस्त–दुरुस्त राख्न र दुर्घटना तथा चोरीबाट जोगाउन कार्यालयले बेलाबेला चेकजाँच गर्ने र सचेतना फैलाउने गरेको कार्यालय प्रमुख श्यामकुमार लिम्बुले बताउनुभयो ।
“यातायात ब्यवस्थालाई अनुशासित तुल्याउने, मर्यादित र ब्यवस्थित बनाउने र सडक दुर्घटना कम गर्न सचेतना अभिबृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम गर्ने गरिको छ ।” कार्यालय प्रमुख लिम्बुले भन्नुभयो । गैरकानुनीरुपमा भाडामा ठग्नेलाई तत्काल कारवाही गर्ने र यात्रुलाई सचेत गराउने तथा घरबाट बाहिर निस्कदा सवारी साधनको कागजात पुरा बोक्नुपर्ने ज्ञान दिने गरिएको उहाँले बताउनुभयो । कार्यक्रमले ट्राफिक र यातायात कर्मचारीलाईसमेत यात्रुमैत्री ब्यवहारमा थप प्रेरित गर्ने उहाँले बताउनुभयो ।
चेकजाँचमा इलाका प्रशासन कार्यालय कटारीका प्रमुख भीम भट्टराई, इलाका प्रहरी कार्यालय कटारीका इन्चार्ज डिएसपी सुवास राईसमेत खटिएका थिए । यसका साथै सडकमा दैनिकरुपमा ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्दै आएको छ ।
फाेटाे फिचर :