Sunday, April 19News That Matters

युद्ध चलिरहेको देश इरानमा उदयपुरका युवा नियन्त्रणमा, उद्धार गरिदिन सरकारलाई परिवारको आग्रह

पूर्णपुष्टि संवाददाता
६ चैत्र, २०८२ । उदयपुर
युद्ध चलिरहेको देश इरानमा उदयपुरको एक युवा त्यहाँको सेनाको नियन्त्रणमा परेका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट निवासी अमृत झा नियन्त्रण परेको परिवारले जनाएको छ । गएको छ दिनदेखि उनी नियन्त्रणमा परेको उनका भिनाजु राजेश झाले जानकारी दिनुभयो।
पारिवारिक स्रोतकाअनुसार वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षअघि उनी इरान गएका हुन् । इरानमा उनी पानीजहाज चलाउने पाइलट हुन् ।
पानीजहाज चलाउने कामकै सिलसिलामा उनी नियन्त्रणमा परेको जनाइएको छ ।
दुबईबाट पानीजहाज लिएर इरान जाने क्रममा इरानको बन्दर अब्बास बन्दरगाहबाट नियन्त्रणमा परेको र कारागारमा राखिएको परिवारले जनाएको छ । नियन्त्रणमा पर्नुको कारण भने प्रष्ट हुन सकेको छैन ।
तत्काल उद्धार गरिदिन  परिवारले नेपाल सरकारलाई आग्रह गरेको छ ।  उनकी दिदी पूजा झाले परराष्ट्र मन्त्रालयमा उद्धारका लागि निवेदन  दिँदै भाइलाई नेपाल फर्काइदिन अनुरोध गरेकी छिन् ।