
पूर्णपुष्टि, चैत्र १७ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी विगत दुई दिनदेखि आफ्नै घरमा नजरबन्दमा रहेका छन् । ‘नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५’ अन्तर्गत प्रमुख जिल्ला अधिकारीको आदेशमा उनलाई नजरबन्दमा राखिएको हो ।
उक्त ऐनको दफा ३ को उपदफा ३.१ अनुसार सार्वजनिक शान्ति र व्यवस्थामा खलल पर्न सक्ने कार्य रोक्न स्थानीय अधिकारीले कुनै व्यक्तिलाई निश्चित अवधिसम्म निश्चित स्थानमा नजरबन्द राख्न सक्ने व्यवस्था छ । प्रशासनले सुवेदीलाई घरभित्र मात्र बस्न आदेश दिएको छ ।
प्रहरी स्रोतका अनुसार सुवेदीको गुह्येश्वरीस्थित निवासमा जुनियर अफिसरको कमाण्डमा ४-५ जना प्रहरी खटिएका छन् । उनलाई घरबाहिर निस्कन र नजिकका आफन्तबाहेक अन्य व्यक्तिहरूलाई भेटघाट गर्न बन्देज लगाइएको छ । प्रहरी अधिकारीका अनुसार, “उहाँको घरको गेटमा जुनियर अफिसरको कमाण्डमा ४-५ जना प्रहरी खटिएका छन्। घरबाहिर निस्कन पाउनुहुन्न। नजिकका आफन्तले भेट गर्न पाउँछन् ।”
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सुवेदीको निवासमा सुरक्षा निगरानी बढाइएको पुष्टि गरेका छन् । कानुनी व्यवस्था अनुसार, यस्तो नजरबन्दको आदेश ९० दिनसम्म कायम रहनेछ र आवश्यक परेमा थप ६ महिनासम्म लम्ब्याउन सकिन्छ । ६ महिनाभन्दा बढी अवधिका लागि गृह मन्त्रालयले सल्लाहकार समितिसँग राय लिई १२ महिनासम्म लम्ब्याउन सक्नेछ ।शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेपछि सुवेदी नजरबन्दमा परेका हुन् । उक्त हिंसात्मक प्रदर्शनमा २ जनाले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते हुनुका साथै भौतिक संरचनामा तोडफोड, आगजनी र लुटपाट समेत भएको थियो । यस घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसहित १०० जनाभन्दा बढी व्यक्ति पक्राउ परिसकेका छन् ।