Tuesday, June 9News That Matters

रानीपोखरी पुनर्निर्माण कार्य अन्तिम अवस्थामा

पूर्णपुष्टि, जेठ २६ गते ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको रानीपोखरी पूननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

कोरोना कारणले लकडाउनको अवस्थामा पनि तीव्र गतिमा काम भइरहेको रानीपोखरी निर्माणको काममध्ये पोखरी निर्माणको काम ९७ प्रतिशत सम्पन्न भएको हो । यो साताभित्र पोखरी निर्माणको काम सम्पन्न हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

अहिले पोखरीको पिँधमा बालुवा, कालो माटो र इँटा बिच्छ्याउने कार्य भईरहेको छ । पोखरीको पिँधमा पहिलो तहमा बालुवा छर्ने, दोस्रो तहमा कालो माटो १५ इन्चसम्म राख्ने र तेस्रो तहमा प्रताप मल्लका पालाका ‘महापा’ इँटाले सोलिङको काम भइरहेको छ । ‘महापा’ इँटा भक्तपुरको दक्षिण बराहीबाट मगाइएको छ ।

पोखरीको पिँधमा सोलिङको काम सम्पन्न भइसकेपछि पोखरी क्षेत्रमा जडान गरिएको बोरिङबाट पानी राखिने काम सुरु गरिने प्राधिकरणले जनाएको छ । पोखरी क्षेत्रमा दुईवटा बोरिङ जडान गरिएका छन् । बोरिङ चलाउन ‘थ्री फेज’ विद्युत्को लाइन आवश्यक पर्छ । जसको जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग औपचारिक प्रक्रिया सुरु भइसकेको जनाईएको छ ।

त्यसैगरी टुँडिखेलमा रहेको इनारबाट पनि पानी र आकाशे पानी संकलन गर्न रानीपोखरी क्षेत्रमा ‘रेन वाटर हार्भेस्टिङ’ प्रणाली जडान गरिएको छ । वर्षाको समयमा सडकको पानी पोखरीमा पस्न नपाउने गरी निर्माण गरिएको जनाईएको छ । अब रानीपोखरीको पानी सफा हुने प्राधिकरणले जनाएको छ ।

रानीपोखरीमा कुल तीन करोड लिटर पानी राखिने योजना रहेको प्राधिकरणले जनाएको छ । पोखरीमा पाँच फिट चार इन्च पानीको गहिराइ रहनेछ । पोखरीको पुरातात्विक महत्वलाई ध्यान दिँदै पूर्ण रूपमा निर्माणको कार्य प्रताप मल्लको पालाको जस्तै गरी बनाइएको छ ।

छड, सिमेन्ट लगायत कुनै पनि आधुनिक निर्माण सामग्रीको प्रयोग गरिएको छैन । पोखरीको भित्ता निर्माणमा ‘महापा’ इँटाको प्रयोग गर्ने गरिएको र प्रताप मल्लको पालाको नमुना अनुसार ‘महापा’ इँटालाई माछाकाँडे आकारको कटिङ गरी बिच्छ्याउने काम भइरहेको छ ।

पोखरी सुन्दर बनाउने क्रममा पोखरीभन्दा माथि दुई तहमा काम भइरहेको छ । एउटा तहमा इँटा छाप्ने काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । भित्ताको काम सम्पन्न भइसकेको छ । त्यसैगरी दोस्रो तहमा ढुङ्गा छाप्ने काम मात्र बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

ढुङ्गा छाप्ने काम अबको केही दिनभित्र सुरु हुने जनाईएको छ । दोस्रो तहमा निर्माण भइरहेका आठवटा भ¥याङको फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ । पोखरी निर्माणमा अहिलेसम्म सात करोड ८५ लाख रुपियाँ खर्च भइसकेको छ ।

रानीपोखरीमा निर्माणाधीन मन्दिरको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भइसकेको जनाईएको छ । मन्दिर निर्माणमा अहिलेसम्म सात करोड रुपियाँ खर्च भइसकेको छ । रानीपोखरीको बीचमा शिखर शैलीमा बालगोपालेश्वरको मन्दिर निर्माण भइरहेको छ । मन्दिरमा बिजुलीको तार जडान भइसकेको छ । मन्दिर निर्माणमा कीर्तिपुर र चोभारका विशेषज्ञ कालीगढ मात्र संलग्न छन् ।