राप्रपाको केन्द्रीय कार्यालय भत्काउने बालेनको योजना असफल

पूर्णपुष्टि, १५ साउन ।
काठमाण्डौँ माहानगरपालिकाको मेयर वालेन शाहाले भत्काउन लागेको राप्रपाको केन्द्रीय कार्यालय जोगिएको छ । नियम विपरित कार्यालय निर्माण भएको भन्दै मेयर बालेन शाह र काठमाडौँ महानगरपालिकाले उक्त कार्यालय भत्काउने योजना बनाएका थिए । त्यसका लागि महानगरपालिकाको टोली डोजरसहित कार्यालय नजिक पनि पुगेका थिए । तर राप्रपाका नेता कार्यकर्ताको अवरोध र शक्तिकेन्द्रसँग अध्यक्ष राजेन्द्र लिङ्देनको परामर्शपछि आज कार्यालय जोगिएको हो ।

यसअघि शुक्रबार महानगरपालिकाले हाइटेन्सन लाइनमुनि पार्टी कार्यालय रहेको भन्दै हटाउने उर्दी जारी गरेको थियो । सोमबारसम्म दिइएको समयमा राप्रपाले पार्टी कार्यालय नहटाएपछि महानगरले डोजर लगाएर हटाउने प्रयास गरेपनि विफल भएको हो ।

बिहानैदेखि राप्रपाको कार्यालय धुम्बाराही परिसरमा पार्टीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो भने कार्यालय नजिक गाडीसमेत तेर्स्याएर अवरोध गरिएको थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालय जोगाइदिन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग समेत हारगुहार गरेको बताइएको छ । त्यसपछि श्रेष्ठकै निर्देशनमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले समन्वय गरेपनि राप्रपाले महानगरपालिकाले बलजफ्ती गरेको भन्दै विरोध जारी राखेको छ । विद्युत् प्राधिकरण र महानगरका प्रतिनिधिसहितको बैठकमा कुनै सहमति नभएको र प्रशासनले पनि प्रहरीको ब्याकफोर्स नदिएपछि आज भवन जोगिएको बताइएको छ ।

यसैबीच राप्रपाका मुख्यसचिव केदार अधिकारी र नेता निरञ्जन थापाले महानगरपालिकामा पत्र दर्ता गराएका छन् । पत्रमा भवन भत्काउनुको लिखित जानकारीसहित महानगरको कार्यक्षेत्र लगायतका विषयमा प्रश्न गरिएको छ ।

तर, महानगरपालिकाले राप्रपाको पत्र चित्तबुझ्दो नभएको जनाएको छ । महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले पत्र चित्तबुझ्दो नभएको र यसबारे आफूहरू छलफलमै रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0