Sunday, June 28News That Matters

राष्ट्रपति भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन

पूर्णपुष्टि, कात्तिक ५

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएका रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि आज राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो ।
पोखरीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति भएका सबै संरचनाहरुको पुनर्निर्माण छिट्टै सम्पन्न हुने विश्वाससमेत व्यक्त गर्नुभयो । सबै सांस्कृतिक सम्पदालाई मौलिक स्वरुपमा निर्माण गर्न सक्षम हुने आशासमेत उहाँले व्यक्त गर्नुभयो ।

करिब तीन सय वर्षअघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको छुट्टै सांस्कृतिक महत्त्व भएको राष्ट्रिपति भण्डारीले बताउनुभयो । रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुरानै शैलीमा निर्माण हुनुले प्राकृतिक सम्पदाको संरक्षण भएको पुष्टि हुने पनि उहाँले बताउनुभयो । यसबाट काठमाण्डौ उपत्यकाको विकास मात्रै नभइ पर्यटकका लागि समेत आकर्षणको केन्द्र बन्न मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
रानीपोखरीको पुनर्निर्माणका लागि २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गर्नुभएको थियो । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ ।

राष्ट्रपति भण्डारीले रानीपोखरीसँगै ऐतिहासिक दरबाहर हाइस्कुलको समेत उद्घाटन भएको छ । राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भवनलाई पुरानै शैलीमा निर्माण गर्न सहयोग पु¥याउने चीन सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो ।