
पूर्णपुष्टि, भदौ ७
मुम्वाईमा रेलले ठक्कर दिदा घाईते भएकी एक नेपाली युवतीको मृत्यु भएको छ । भारतको मुम्वाई स्थित तिव्र गतिमा आएको रेलले २२ वर्षीया कालु परियार लाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको भारतिय संञ्चार माध्यमहरुले जनाएको छ ।
घटना २२ जुलाई (साउन ७ गते) को दिन सानपाडा र जुइनगर रेलवे स्टेशनको बीचमा भएको हो । तर आफन्त पत्ता लाग्न ढिला भएकाले शव बुझाउन ढिला भएको प्रहरीको भनाइ छ ।
‘त्यो दिन उनी आफ्नो साथीलाई भेट्न नेरुल जाँदै थिइन् । त्यही बेला उनको मोबाइल रेल्वे लिकमा झर्यो । त्यसपछि उनी रेलवे स्टेशनमा ओर्लिइन् र लिकमा आफ्नो फोन खोज्न थालिन् । त्यही बेला तीव्र गतिमा आएको अर्को रेलले उनलाई ठक्कर दियो,’ भासीस्थित जीआरपीका वरिष्ठ निरीक्षक विष्णु केसरकरले भनेका छन् । गम्भीर घाइते भएकी उनलाई सायन अस्पतालमा भर्ना गरिएको र २ अगष्ट (साउन १८ गते) मृत्यु भएको समाचारमा उल्लेख छ ।
रेलको लिकमा मोबाइल फोन हराएपछि खोजिरहेको बेला तीव्र गतिमा आएको रेलले उनलाई ठक्कर दिएको र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इन्डियन एक्सप्रेसले जनाएको छ । घटना भएको एक महिनापछि उनको शव परिवारका सदस्यलाई जिम्मा लगाइएको सरकारी रेल्वे प्रहरी (जीआरपी)ले जनाएको छ ।
मृत युवतीको शव परिवारलाई बुझाउन ठेगाना पत्ता नलाग्दा निकै समस्या परेको थियो । उनको परिवारका सदस्य पत्ता लगाउन प्रहरीले नेपाली समुदायसँग मद्दत लिएको थियो ।
