
पूर्णपुष्टि/उदयपुर, असार १२
लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा उदयपुर सदरमुकाम गाईघाटमा सचेतनामूलक र्यालीसहित समापन कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी मेख वहादुर मग्रातीले लागू औषध दुर्व्यसन रोक्न कडाइका साथ लाग्ने बताउँदै त्यसका लागि सबैलाई लागि पर्न अन्हान गर्नुभयो ।
“लागुऔषधको चुनौती चिर्दै, सामाजिक समावेशीकरणको बाटो खोलौं” भन्ने मूल नाराका साथ आयोजित सप्ताहव्यापी कार्यक्रमको समापनका अवसरमा जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजनामा र्याली निकालिएको हो।
र्यालीमा जिल्ला प्रहरी कार्यालय उदयपुर, शिक्षा विकास तथा समन्वय इकाइ, त्रियुगा नगरपालिका, विभिन्न सरकारी कार्यालय, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था, सुरक्षाकर्मी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले लागुऔषध दुरुपयोग न्यूनीकरण, ओसारपसार नियन्त्रण तथा युवालाई कुलतबाट जोगाउनुपर्ने सन्देश लेखिएका प्लेकार्ड बोकेर गाईघाट बजार परिक्रमा गरेका थिए।
आयोजकका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक अभियान, अन्तरक्रिया र जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो। समापन कार्यक्रममा वक्ताहरूले लागुऔषध नियन्त्रणका लागि कानुनी कारबाहीसँगै परिवार, विद्यालय, समुदाय र सरोकारवाला निकायबीच समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेकोमा जोड दिएका थिए।
