Tuesday, July 7News That Matters

लिमचुङबुङमा ५ नयाँ भवन बन्ने

पूर्णपुष्टि,पुष १३

उदयपुर जिल्लाको विकट मानिएको लिमचुङबुङ गाउँपालिकामा स्वास्थ्य, शिक्षा र प्रशासनिक आदी बिभिन्न प्रयोजनका लागि यस बर्ष ५ नयाँ पक्की भवनहररु बन्ने भएको छ ।

पालिकाको पारित वार्षिक नीति तथा कार्यक्रम अनुसार स्वास्थ्यचौकी भवन विद्यालय भवन र वडा प्रशासनिक भवन बनाउन लागिएको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले जानकारी दिनुभयो ।

अध्यक्ष राईका अनुसार वडा नं. १ को बाँसबोटेमा स्वास्थ्यचौकी भवन, वडा नं. ३ को बाराहा माविलाई दुईवटा विद्यालय भवन निर्माण गर्न लागिएको हो । त्यसैगरी वडा नं. ४ को बलम्ता माविलाई एउटा भवन र वडा नं. ५ को जाँतेमा वडा प्रशासनिक भवन बनाईने भएको छ ।

गाउँपालिकाले बाँसबोटे स्वास्थ्यचौकीका लागि ५५ लाख ३६ हजार १ सय ८० रुपैंया ९६ पैसाको लागत इस्टीमेट तयार गरेको छ, भने बाराहा माविको ४ कोठे भवनका लागि २५ लाख ८३ हजार ३ सय ८० रुपैंया ७१ पैसा र अर्को ८ कोठे भवनलाई १ करोड ७२ हजार ४ सय ४७ रुपैंया ४९ पैसा बजेट बिनियोजन गरेको छ ।

वडा नं. ४ बलम्ताको क्याप्टेन पर्शुराम पदमा राई माविको ४ कोठे भवनका लागि ४९ लाख ९ हजार ३ सय ३४ रुपैंया ८२ पैसाको प्राविधिक इस्टीमेट तयार भएको छ । त्यसैगरी ५ नं. वडाको प्रशासनिक भवन बनाउन ६१ लाख ६७ हजार ९ सय १३ रुपैंया बिनियोजन गरिएको अध्यक्ष राईले बताउनुभयो ।

समयमा काम गर्न नसक्दा पुँजीगत रकम वर्षेनी फिर्ता हुने गरेकाले त्यसबाट पाठ सिक्दै बेलैमा काम सक्ने परिपाटी सुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुले जानकारी दिनुभयो । धेरै स्थानीयतहहरुले समयमा काम गर्न नसक्दा संघीय सरकार, प्रदेश र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम वर्षेनी फिर्ता हुने गरेको अनुभव कर्मचारी र जनप्रतिनिधिहरुको छ ।

अधिकृत लिम्बुले भवन तत्काल निर्माण थाल्ने गरी गाउँपालिकाले पुस १० गतेको मितिमा टेण्डर आव्हानको सूचनासमेत प्रकाशित गरिसकेको बताउनुभयो । पुँजीगत बजेट छिटो खर्च गर्दै विकास निर्माणमा फड्को मार्ने गरी ५ वटै भवन निर्माण गर्न एकैचोटी टेण्डर आव्हान गरिएको उहाँले बताउनुभयो ।