
उदयपुर, चैत १ ।
१ नं. प्रदेश कृषि विकास रणनीति तर्जुमाका लागि प्रदेश कृषि रणनीति सल्लाहकार समितिको सदस्यमा उदयपुरको एक गाउँपालिका अध्यक्ष पनि मनोनयनमा परेका छन् । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई १ नं. प्रदेश मन्त्रीस्तरको निर्णयानुसार प्रदेश कृषि रणनीति सल्लाहकार समितिको सदस्यमा मनोनयन भएका हुन् ।
अध्यक्ष राईलाई फागुन ३० गते १ नं. प्रदेश मन्त्रीस्तरको निर्णयानुसार स्थानीय तहको तर्फबाट मनोनयन गरिएको हो । लिम्चुङबुङ स्थानीय सरकारले अध्यक्ष कृषि परियोजना सञ्चालन गरी कृषिका कामहरु अगाडि बढाईरहेको छ । सो परियोजना जिल्लाको आठ पालिका मध्ये एकमात्र पालिकाले सञ्चालनमा ल्याएको परियोजना हो । सम्भवतः देशभरकै पालिकाहरु मध्येको पहिलो पालिका रहेको छ ।
जिम्मेवारी पाएकोमा अध्यक्ष राईले खुसी ब्यक्त गरेका छन् । “प्रदेश कृषि विकास रणनीति तर्जुमाका लागि प्रदेश कृषि रणनीति सल्लाहकार समितिको सदस्यमा रुपमा मनोनयन गरेकोमा प्रदेश सरकारका माननीय कृषि मन्त्री झलकसिंह दर्लामी ज्यु र मन्त्रालयका श्रीमान सचिव ज्युप्रति विशेष धन्यावाद ब्यक्त गर्दछु ।” अध्यक्ष राईले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । “मनोनयनको लागि सिफारिस गर्नुहुने सबै आदरणीय, सम्माननीय ब्यक्तित्व ज्युप्रति पनि सम्मान ब्यक्त गर्दछु ।” उनले लेखेका छन् “प्रदेश कृषि विकास रणनीति कार्यक्रम तर्जुमा निर्माणमा महत्वपूर्ण र अर्थपूर्ण योगदान गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।”
