Friday, May 1News That Matters

लिम्चुङबुङमा अपांगता भएकालाई घुम्ति शिविर मार्फत परिचय पत्र वितरण

पूर्णपुष्टि, जेठ २३ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा अपांगता भएकाहरुलाई घुम्ति शिविर मार्फत परिचय पत्र वितरण गरिएको छ । जेठ १७ गते बिहिबारबाट संञ्चालन गरिएको घुम्ति शिविर जेठ २२ गते मंगलबार सम्पन्न भएको हो ।

गाउँपालिका केन्द्रसम्म आएर परिचयपत्र लिन नसक्ने अशक्त अपांगता भएकाहरूलाई वडावडामा घुम्ती शिविर सञ्चालन गरी परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत गुरुङका अनुसार घुम्ति शिविरबाट सबै वडाका अपांगता भएका ७० महिला र ९५ पुरुष गरी १६५ जना लाभान्वित भएका छन् । प्रशासकिय अधिकृत गुरुङ नेतृत्वको टोलीले गाउँपालिकाको ५ वटै वडामा पुगेर शिविर संञ्चालन गरेको हो ।

गुरुङका अनुसार वडा नं. १ मा १८ महिला र २६ पुरुष गरी ४४ जना, वडा नं. २ मा १४ महिला र १३ पुरुष गरी २७ जना, वडा नं. ३ मा १९ महिला र २० पुरुष गरी ३९ जना, वडा नं. ४ मा ६ महिला र १४ पुरुष गरी २० जना र वडा नं. ५ मा १३ महिला र २२ पुरुष गरी ३५ जना अपांगता व्यक्तिहरूले परिचय पत्र प्राप्त गरेका छन् । शिविर अभियान प्रदेश सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनसँगको साझेदारीमा गाउँपालिकाले सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधकिृत गुरुङले बताए ।

‘अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम’ अन्तर्गत सञ्चालित शिविरले पुराना अपांगता भएकाहरूको सुरक्षा गर्ने तथा आगामी दिनमा नयाँ अपांगता हुन नदिने योजना अघि सारेको छ। यस कार्यक्रमले सबैखाले अपांगता भएकाहरूको पुनस्र्थापना गर्न उनीहरूका परिवारका सदस्यलाई आर्थिक रुपमा बलियो बनाउन विभिन्न सिपयुक्त तालिम दिने तथा अन्य अपांगमैत्री गतिविधि पनि गर्ने गरेको छ।