Friday, February 14News That Matters

लोकसभा सदस्यका लागी राहुल अयोग्य रहेको घोषणा

पूर्णपुष्टि, चैत १० । भारतको लोकसभा सचिवालयले राहुल गान्धीलाई लोक सभा सदस्य हुन अयोग्य रहेको घोषणा गरेको छ । प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई लोकसभा सदस्य हुन अयोग्य रहेको भारतीय सञ्चारमाध्यम टाईम्स अफ ईन्डियाले जनाएको छ ।

सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित भएका गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर अदालतमा मानहानी मुद्दा परेको थियो ।

राहुलले एक भाषणमा मोदिको आलोचना गर्दा ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो ?’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए ।

सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै २ बर्ष जेल सजाय सुनाएको थियो । अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्नको लागी ३० दिनको समय दिएको छ भने तत्कालका लागि उनलाई धरौटीमा छोडेको छ ।