Tuesday, April 21News That Matters

वर्षापछि अवरुद्ध लिमचुङबुङ सडक सुचारु

पूर्णपुष्टि, असोज १७ ।  अविरल वर्षाले अवरुद्ध भएको उदयपुरको गाईघाट-लिमचुङबुङ सडक खण्ड पाँच दिनको निरन्तर मर्मतपछि सञ्चालनमा आएको छ । लिमचुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले दर्जनौं ठाउँमा भत्किएको र पहिरोले पुरिएको सडक रातारात मर्मत गरी सुचारु गरिएको जानकारी दिए ।

गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १९ लाख रुपैयाँ खर्च गरी स्काभेटर, ट्याक्टर र प्राविधिक जनशक्ति परिचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए । चाडपर्वको समय नजिकिएकाले यातायात सुचारु गर्न तत्काल पहल गरिएको हो । हाल ठूला बस नचले पनि बोलेरो, सुमो र मोटरसाइकल सञ्चालनमा छन् ।

४५ किलोमिटर लामो यो सडकको अधिकांश भाग रौतामाई गाउँपालिकामा पर्छ । यस पटक रौतामाई गाउँपालिकाले पनि मर्मत कार्यमा सहयोग गरेको छ । वर्षायाममा नियमित रूपमा समस्याग्रस्त हुने यो सडकमा हरेक हिउँदमा मर्मत गरिए पनि स्थायी समाधान हुन सकेको छैन ।