Sunday, June 28News That Matters

विदेशी मदिरा रोक्दा ५० करोड बच्यो

पूर्णपुष्टि असार २७

सरकारले विदेशी महंगा मदिराको आयात रोक्दा ३ महिनामै करिब ५० करोड रुपैयाँ जोगिएको छ । कोरोनाका कारण अर्थतन्त्र संकटमा परेका बेला विलासी वस्तुको आयात घटाउने रणनीति अन्तर्गत सरकारले गत चैत १६ गतेदेखि विदेशबाट हुने मदिरा आयात रोक्ने निर्णय हो ।

नेपालले वार्षिक २ अर्बभन्दा बढीको विदेशी मदिराको आयात गर्ने गरेको छ । यस हिसाबले ३ महिना मदिरा आयात रोकिदा करिब ५० करोड रुपैयाँ बराबर स्वदेशी मुद्रा विदेशिनबाट जोगिएको भन्सार विभागले जनाएको छ ।

नेपालमा स्कटिस ह्वीस्कीको बजार ठूलो रहेको मदिरा आयातकर्ताहरुको दाबी छ । स्कटिस ह्वीस्की, जोनी वाकर तथा सिवास रिगल र अमेरिकी जेडी ह्वीस्की नेपालमा प्रख्यात ब्राण्डका मदिरा हुन् ।

नेपालमा वाइन, भोड्का, जिनजस्ता अल्कोहलिक पदार्थको आयात उच्च हुने गरेको भन्सार विभागले जनाएको छ । नेपालमा भारत, जर्मनी, फ्रान्स, स्कटल्याण्ड, इटाली, अमेरिका, बेल्जियमदेखि क्युवा तथा खाडीका मुलुकबाट समेत मदिरा आयात हुने गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

नेपालले बेलायतबाट रम र चीनबाट बियरसमेत आयात गरेको छ । यस्तै, अब्सुलुट, सिरक, स्क्रिअस जस्ता मदिरा पनि नेपालमा आउँछन् ।

सरकारले आयातमा प्रतिबन्ध लगाएको ३ महिनापछि बजारमा महंगा मदिराको मौज्दात रित्तिन थालेको छ । देशका विभिन्न सहरका ठूला मदिरा स्टोरहरु जोनी वाकर, अमेरिकी जेडी ह्वीस्की, सिवास रिगल जस्ता ब्राण्डका मदिरा अभाव भएको व्यवसायीहरुले बताएका छन् ।

ब्लु लेबल, रेड लेबल, डबल ब्ल्याक, जोनी वाकर, सन्स ह्वीस्की, स्की जस्ता मदिरा स्कटल्याण्डको डियाजा कम्पनीले उत्पादन गर्छ । यस्तै सिभास रिगल पनि स्कटल्याण्डमै बन्छ । अमेरिकी जेडी कम्पनी तथा फ्रान्सेली वाइन र ह्वीस्कीहरु पनि बजारमा पाइन छोडेको व्यवसायीहरु बताउँछन् ।

सरकारले विदेशी मदिरा रोक्ने निर्णय गरेपछि नेपाली उत्पादकहरुले यसबाट लाभ हुने अपेक्षा गरेका थिए । तर अहिलेसम्म यसको असर खासै नदेखिएको मदिरा वितरकहरुले बताएका छन् ।

विदेशी मदिराको मौज्दात अझै रहेको र लकडाउनका कारण स्वदेशी मदिराले बजार नपाएको नेपाल मदिरा व्यवसायी महासंघले जनाएको छ । मदिराको ठूलो कारोबार हुने देशका ठूला सहरहरुको चहलपहल ठप्प हुँदा मदिराको बिक्री खासै नभएको महासंघले जनाएको छ ।