Sunday, March 15News That Matters

विनापैसा नेपाल भ्रमण पुरा गरेकी नेपाली चेली सितालाइ उदयपुरगढी गाउँपालिकाकाे सम्मान

पूर्णपुष्टि, माघ २५ । उदयपुर

बिना पैसा नेपालको ७७ जिल्ला भ्रमण गरेकी नेपाली साहसी चेलीलाई उदयपुरको उदयपुरगढी गाउँपालिकाले आज सम्मान गरेको छ । सात महिना १३ दिनमै पुरै नेपाल भ्रमण गरेकी सीता राईलाई उनको आफ्नै गृह गाउँपालिका उदयपुरगढीले सम्मान गरेको हो । उदयपुरगढीको वडा नम्बर ८ मा घर भएकी साहसी नेपाली चेली सीताले गाउँपालिकाका साथै जिल्ला र सिङ्गो देशकै नाम उच्च बनाएकोमा सम्मान गरेको हो ।

उनी नारी साहस र नारी सशक्तताको प्रतीक बनेकी छिन् । गृह जिल्ला उदयपुरबाट झापा पुगेर सुरु गरेकी बिना पैसा नेपाल भ्रमण, पहाडी र हिमाली क्षेत्रका जिल्लाहरू पुग्दै तराईको सप्तरीमा आएर यात्रा पूरा गरेकी थिइन् । यसै सालको असार ९ गतेबाट सुरु गरेको भ्रमण गत माघ २१ गते पुरा गरेर गृह जिल्लाआइपुगेकी छिन् । .यसै अवसरमा गढी गाउँपालिकाले उनलाई आज सम्मान गरेको हो। उनलाई गाउँपालिका उपाध्यक्ष जितबहादुर खड्का र प्रमुख प्रशासकीय अधिकृत भक्तकुमार राईले खाँदा ओडाई कदरपत्रले सम्मान गरेका हुन् । पालिकाका प्रवक्ता सहायक विक लगायत कर्मचारीहरू र अन्य जनप्रतिनिधिहरू समेतले उनलाई खादा ओडाएर सम्मान गरेका थिए । पालिकाले मायाको चिन्ह समेत प्रदान गरेको छ । देशको ४५ वटा जिल्ला भ्रमण गरिसकेका सुनसरीको रामधुनी नगरपालिकाका युवा विनोद भट्टराईलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । ७७ वटै जिल्ला भ्रमण गर्ने उनको लक्ष्य पूरा गर्न प्रोत्साहन गरिएको  थियो। यति छोटो समयमै देशको ७७ जिल्ला भ्रमण त्यो पनि बिना पैसा पुरा गर्नु सोचभन्दा बाहिरको कुरा लाग्दछ तर अनगिन्ती चुनौती र कष्टको सामना गर्दै उनले पूरा गरेकी छिन् । उनको भ्रमणको भिडियो तथा तस्बिरहरू उनको आफ्नै ब्लगमा हेर्न सकिन्छ।बिना पैसाको यात्रा भएकाले उनले खाना बास यातायात जस्ता कुराहरुमा सहयोग मागेकी छिन्। कतिपयले सहयोगलाई सस्वीकार गरेको पनि देखिन्छ भने केहीले नकारेको पनि देखिन्छ। सहयोगी मन हुनेहरूले मानवियता देखाएको र त्यसमा नारी साहसको सम्मान र प्रोत्साहन गरेको देखिन्छ भने कतिपयमा सुझबुझको कमी र सहयोगी भावको खडेरी पनि देखिन्छ । नेपालकी एक साहसी चेली सीताले गरेको यो काम उदाहरणीय छ । उनले नेपाल यात्राकाे विशेष अनुभव बटुलेकी छिन् ।