
पूर्णपुष्टि, बेशाख १२ । फ्लाइ दुबई एफडीजेड ५७६ जहाज काठमाडौंबाट दुबईका लागि उडेको जहाजमा चरा ठोक्किएको भ्रम फैलाएको भन्दै फ्लाइ दुबईका २ उच्च अधिकारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।
सोमबार साँझ दुबईका लागि उडेको जहाजको इन्जिनमा खराबी आएको भन्दै पाइलटले एटीसीलाई जानकारी गराएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार फ्लाइ दुबईले भने ट्वीट गर्दै सम्भवतः चरा ठोक्किएको हुन सक्ने बताएको थियो । भौतिक रुपमा गरेको निरिक्षणबाट चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको प्राधिकरणको भनाई छ ।
प्राधिकरणले भ्रमपूर्ण समाचार फैलाएको भन्दै फ्लाइ दुबईका कन्ट्री म्यानेजर सहित एयरपोर्ट म्यानेजरको एयरपोर्ट पास निष्कृय पार्ने निर्णय गरेपछि उनीहरुले विमानस्थल भित्र प्रवेश पाउने छैनन् । सोमबार के कारणले जहाजको इन्जिन पड्किएको हो, के कारणले आगो देखिएको हो भन्नेबारे संयुक्त अरब इमिरेट्सको नागरिक उड्डयन प्राधिकरणबाट जानकारी लिने र फ्लाइ दुबई सोही मुलुकमा दर्ता भएका कारण नेपालको नियामक निकायले सो कम्पनीबारे अनुसन्धान गर्न नमिल्ने प्राधिकरणले जनाएको छ ।
