
पूर्णपुष्टि संवाददाता
उदयपुर । ५ चैत्र, २०८२
नेपाल सरकार गृह मन्त्रालयले आज नेपाली नागरिकहरूलाई सतर्कताका लागि अनुरोध गरेको छ ।
तीव्र हुरी बतास र बर्सातले क्षति हुन सक्ने भन्दै सतर्कता गराएको हो।
गृह मन्त्रालयको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि ६ गते कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना हुने जनाएको छ भने पर्सि ७ गते शनिबार पूर्वी क्षेत्रका विराटनगर धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी झन्डै (११९ किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना रहेको जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागबाट जारी आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार सतर्क गराएको हो । “प्रिमनसुनको अवधि पनि रहेकोले तीव्र हावाहुरीका कारण रुख ढल्ने कमजोर संरचना र छाना उड्ने विद्युत तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहन्छ पछिल्ला केही दिन हावाहुरीका घटनाका कारण मानिसहरूको मृत्यु तथा घाइते भइरहेका छन्” प्राधिकरणले भनेको छ ।
प्राधिकरणले उल्लेख गरेको स्थानमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ। विशेष काम नपरी यात्रामा ननिस्किनु र हावाहुरी चलेका बेला घरको झ्याल ढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू बन्द गर्न, सवारी साधन चलाईरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी बिस्तारै सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।
साथै हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तारमुनि नबस्न, बिजुलीको तार लत्रिएको छ भने नछुन, सो समयमा विद्युत उपकरण नचलाउनसमेत आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमान र प्राधिकरणबाट जारी हुने सूचना नियमित रुपमा हेर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
