
पूर्णपुष्टि, असार १० । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता गरिएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी गृह मन्त्रालयले फिर्ता गरेको श्रेष्ठले जानकारी गराएका हुन् । विशिष्ट व्यक्तिहरुको व्यवस्थापन कार्यविधि २०७७ विपरित बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका १९० जना नेपाल प्रहरी र १२६ जना सशस्त्र प्रहरी बलका गरी ३१६ सुरक्षाकर्मी फिर्ता गरिएको गृहमन्त्री श्रेष्ठले बताए ।
अहिले सरकारले कार्यविधि नै बनाएर त्यसम्बन्धी प्रतिवेदन तयार पारेको गृहमन्त्री श्रेष्ठले बताए । यसअघिका गृहमन्त्रीले विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेर सकारात्मक भुमिका खेलेको भन्दै गृहमन्त्री श्रेष्ठले रास्वपाका सभापती रवी लामिछानेको प्रशंसा गरेका थिए ।
अति विशिष्ट व्यक्तिहरूको भ्रमणको समयमा नागरिकले सास्ती भोग्नुपरेको विषयलाई सम्बोधन गर्न गठित कार्यदलले सुझावसहितको प्रतिवेदन तयार गरेको जनाउँदै ‘श्रेष्ठले भने’ कार्यान्वयन प्रक्रिय सुरू भइ विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०८० को मस्यौदासमेत तयार भएको छ ।
