
पूर्णपुष्टि,जेष्ठ १८ । आज अग्रेजी महिलना जुनको पहिलो विश्व आमाबुवा दिवस । सन् २०१२ को संयुक्त सङ्घको महासभाले हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने घोषणा गरेको हो ।
विश्वमा रहेको हरेका आमाबुवाको एउटै चाहाना हुन्छन् यो छोरी बढ्ली कमाई गर्ली, यो छोरा बढ्ला कमाई गर्ला दुधभात, दालभात देला यो नेपाली समाजको एउटा थेगो हो, आज ठाडो केरा लेख्न चित्त परेको छ, कुरा आमाबुवाको आएपछि घुमाएर कुरा गर्नुको र भूमिकाको कुनै अर्थ छैन, बुवाआमाहरु ज्यूँदा भगवानहरु हुन्, यिनीहरूको समर्पण अनि यिनीहरूप्रतिको आदरमा समाज टिकेको छ ।
बुवा आमाप्रतिको दायित्व दुधभात र दालभातको उपलब्धतामा मात्र किन अड्केको हुन्थ्यो र ? यी जाबा भात अनि दूध त बिम्ब मात्र हुन्, माया सद्भाव, आदर, अँगालो अनि सम्झनामा सकल सृष्टि अनि सृष्टिकर्ता बुवा आमाको रचना अडेको छ । विदेशमा हुनुहुन्छ या स्वदेशमा नै बुवा आमाभन्दा पर हुनुहुन्छ, बुवा आमालाई पैसा पठाएर र बस्न खान दिएर दायित्व पूरा गर्नुभएको होला तर दायित्वको सीमा छैन । जब जब उमेर बढ्दै जान्छ तब दिने खाने भन्दा पनि सम्झना, शब्द र सद्भावको भोक बढेर जाने पाइन्छ । जहाँ हुनुहुन्छ, आज हातमा जे छ, साथमा जे छ, प्रयोग गरेर बुवाआमासंग एक वाक्य बोलिदिनोस्, बुवा आमा हुनुहुन्न भनेँ सम्झना गर्नुहोस्, सम्झना उक्काउन सक्नु पनि एउटा समर्पण हुनेछ, सुमन हुनेछ ।
सन् १९८० यता अन्तर्राष्ट्रिय समुदायको ध्यान परिवार र परिवारको सदस्यहरूमा विशेष केन्द्रित भएको पाइन्छ । सन् १९८९ मा नै सन् १९९४ लाई विश्व परिवार वर्षका रूपमा मनाउने घोषणा गरिएको थियो । यससँगै हरेक वर्ष मे १५ लाई विश्व परिवार दिवस घोषणा गरियो । विश्वभरिका आमाबुवालाई केन्द्रित गर्दै हरेक वर्ष जुन १ लाई आमाबुवा दिवसका रूपमा मनाउने घोषणा गरिएको हो ।
