Thursday, July 9News That Matters

वैदेशिक रोजगारको सपना देखाएर ठगी गर्ने गिरोह पक्राउ

पूर्णपुष्टि, साउन २४ । काठमाडौंका बिचौलियाहरूले कतार, साउदी अरब, युएई र कुवेतमा काम गर्न पाइने सपना देखाएर ठगी गरेको घटनामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

सिराहाका ३२ वर्षीय गुनेशकुमार ठाकुरले साउदी-कतारमा काम गर्न पठाइदिने भन्दै १ करोड ९७ लाख रुपैयाँ ठगेको आरोपमा पक्राउ परेका हुन्। उनको निवास ललितपुरको इमाडोल रहेको प्रहरीले जानकारी दिएको छ।

ठाकुरविरुद्ध वैदेशिक रोजगार विभागमा ८५ जनाले उजुर गरेका छन्। प्रहरीको खोजी सूचीमा रहेका ठाकुर बैंकिङ र ठगीसम्बन्धी ८ वटा कसुरमा फरार रहेको पाइएको छ। उनले ‘ओम इन्टरनेशनल’ मेनपावरको कर्मचारी भएको दाबी गरेर पीडितहरूसँग रकम असुलेको पाइएको छ। वैदेशिक रोजगारीको नाममा गरिएको ठगीले एक वर्षमा ६४ करोड १२ लाख भन्दा बढी क्षति पुर्याएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए। कारबाहीका क्रममा प्रहरीले एक वर्षमा ३४८ जनालाई पक्राउ गरेको छ।