Wednesday, April 22News That Matters

वैदेशिक रोजगारमा ठगी : पीडितको न्याय खोज्ने यात्रा कठिन

पूर्णपुष्टि, असार २१ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरू ठगीको शिकार हुने क्रम रोकिएको छैन। मेनपावर कम्पनीहरूले झुटो आश्वासन दिएर ठूलो रकम असुल्ने र विदेशमा सम्झौता विपरीतको काम लगाउने गरेको पाइएको छ।

दाङका मेघराज भण्डारी मलेसिया गएर ठगिएका पीडित हुन्। उनी भन्छन्, ‘मैले तिरेको पैसा सबै फिर्ता चाहियो भनेको थिएँ। तर, आउने जाने टिकट खर्च भयो, अन्य के के खर्च भयो भनेर सबै पैसा काट्यो। जबरजस्ती मेलमिलाप गर्न लगाइयो। पीडितलाई झन् पीडा दिनेगरी सम्झौता भयो।’

पीडितहरूले न्यायको लागि वैदेशिक रोजगार विभागमा उजुरी गर्छन्, जहाँ प्रायः मेलमिलाप गराइन्छ। तर यो प्रक्रियामा पनि पीडितले पूरै क्षतिपूर्ति पाउँदैनन्।उनले एक लाख ७० हजार रूपैयाँ तिरेकोमा ७० हजार रुपैयाँमात्रै फिर्ता पाउने गरी सम्झौता भएको थियो । तर, भण्डारीले अझै मेलमिलाप सम्झौता अनुसारको रकम पूरै पाउन सकेका छैनन् । उनले हाल २० हजार रूपैयाँमात्रै पाए । बाँकी पैसा लिन उनलाई हम्मेहम्मे परेको छ ।

एक अध्ययनले ९४ प्रतिशत मुद्दाहरू पैसा ठगीसँग सम्बन्धित रहेको देखाएको छ। विभागका महानिर्देशक डण्डुराज घिमिरेले पीडितको हितलाई ध्यानमा राखेर मेलमिलाप गराइने बताए। तर कानुन विज्ञहरूले यो प्रक्रियामा सुधारको आवश्यकता औंल्याएका छन्। यो समस्याले वैदेशिक रोजगार क्षेत्रमा कडा नियमन र निगरानीको आवश्यकता देखाएको छ। पीडितहरूको न्यायको सुनिश्चितता र ठगी रोक्न प्रभावकारी कदम चाल्नुपर्ने आवाज उठेको छ।