Sunday, April 19News That Matters

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दो

पूर्णपुष्टि, साउन ८ । प्रमुख श्रम गन्तव्य देशहरू कतार र मलेसियामा श्रमिक कटौती भएपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्न थालेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या ३.८९ प्रतिशतले कमी आएको छ।

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷०८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार ३२७ थियो भने गत आर्थिक वर्षमा यो संख्या घटेर ७ लाख ४१ हजार २९७ मा सीमित भयो। मलेसिया र कतारमा जाने नेपाली श्रमिकको संख्या उल्लेख्य रूपमा घटेको छ। आर्थिक वर्ष २०७८÷०८० मा २ लाख १९ हजार नेपाली मलेसिया गएकोमा गत वर्ष यो संख्या ८१ हजारमा झरेको छ। त्यस्तै कतारमा जाने संख्या ४० हजार ५१७ बाट ४० हजारमा झरेको छ।

यूएई, साउदी अरब र क्रोएसियामा भने जाने नेपालीको संख्या बढेको छ। विज्ञहरूका अनुसार यो गिरावटको मुख्य कारण ती देशहरूमा उद्योग र सेवा क्षेत्रमा भएको व्यापक श्रम कटौती हो। विज्ञहरूले नेपालमा लगानीको वातावरण सुधार गर्न र वैकल्पिक श्रम बजारहरू खोज्न सुझाव दिएका छन्। साथै युरोप लगायत अन्य देशहरूमा श्रमिक पठाउन सहजीकरण गर्नुपर्ने बताएका छन्। वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा नेपालको अर्थतन्त्रमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। त्यसैले स्वदेशमै रोजगारी सिर्जना गर्न र लगानीको वातावरण बनाउन जोड दिइएको छ।