
पूर्णपुष्टि, साउन ८ । नेपालमा किशोरी अवस्थामै गर्भवती हुने समस्या अझै कायम रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेका छन्। यो समस्या विशेषगरी कर्णाली र मधेश प्रदेशमा बढी देखिएको छ।
चिकित्सकहरूका अनुसार किशोरी उमेरमा गर्भवती हुँदा आमा र शिशु दुवैको स्वास्थ्यमा गम्भीर जोखिम हुन्छ। गर्भपतनको उच्च जोखिम, कम तौलको शिशु जन्मने सम्भावना, कुपोषण र मानसिक स्वास्थ्य समस्याहरू देखिन सक्छन्। किशोरी शारीरिक र मानसिक रूपमा आमा बन्न तयार नभएकोले यसले दीर्घकालीन असर पार्न सक्छ।
यो समस्याका प्रमुख कारणहरूमा शिक्षाको कमी, गरिबी, सामाजिक प्रचलन र बेरोजगारी रहेका छन्। विशेषज्ञहरूका अनुसार समाधानका लागि किशोरकिशोरीलाई स्कुल नछोड्ने वातावरण बनाउने, सुरक्षित यौन सम्पर्कबारे जनचेतना फैलाउने र परिवार नियोजनका साधनहरूबारे जानकारी दिने जस्ता उपायहरू अपनाउनु पर्छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखाका प्रमुख समिला दाहाल पौडेलका अनुसार सुरक्षित यौन सम्पर्कको विषयमा जनचेतना फैलाउन जरूरी छ। उनले परिवार नियोजनको साधनबारे समयमै जानकारी दिन सकेमा यो समस्या केही हदसम्म कम हुने बताइन्।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा। श्रीप्रसाद अधिकारीले बालविवाह र कलिलैमा गर्भवती हुने समस्या अन्त्य गर्न सरकारले धेरै काम गर्न बाँकी रहेको बताए। उनका अनुसार कानुनी, प्राविधिक र व्यावहारिक हिसाबले २० वर्षको उमेर तोकिए पनि समाजमा बालविवाहलाई रोक्न सकिएको छैन। यसका लागि सामाजिक पाटो केलाउन जरूरी रहेको उनको भनाइ छ। विशेषज्ञहरूका अनुसार यो समस्या समाधान गर्न सरकार र समाज दुवैले थप प्रयास गर्नुपर्ने देखिन्छ। कानुनी र सामाजिक सुधारका साथै किशोरकिशोरीलाई शिक्षा र रोजगारीका अवसरहरू प्रदान गर्नुपर्ने आवश्यकता रहेको छ।
