Wednesday, June 10News That Matters

शाहीखोला खानेपानी योजनाको उद्घाटन,खोलाको धमिलो पनि खान नपर्ने

पूर्णपुष्टि,बैशाख २ । उदयपुरको त्रियुगा नगरपालिकाको शाहीखोला गाउँका स्थानीयहरुले खोलाको धमिलो खानेपानी खान नपर्ने भएको छ । प्रदेश सरकारको सहयोगमा खानेपानी योजना निर्माण भएपछि त्रियुगा नगरपालिका ८ र १६ नम्बर वडाका स्थानीयको खानेपानीको समस्या हल भएको हो ।

कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले स्थानीय सरकार र प्रदेश सरकारले एक आपसमा सहकार्य स्थानीयको समस्या हल गर्नु पर्ने बताउनु भएको छ । त्रियुगा नगरपालिकाको ८ र १६ नम्बर वडामा पर्ने शाहिखोला सामुदायिक खानेपानी तथा सरसफाइ योजनाको उद्घाटन गर्दै उपसभामुख दनुवारले उक्त कुरा बताउनु भएको हो ।

प्रदेश सरकारले उदयपुरमा निर्माण सुरु गरेको ५४ वटा योजनाहरु अहिले आर्थिक संकटको कारण बजेट अभाव अधुरै रहेकाले आगामी आर्थिक बर्ष भित्र सबै योजना सम्पन्न गर्ने गरि आफु प्रदेश सरकार समक्ष पहल गर्ने उपसभामुख दनुवारले प्रतिवद्धता व्यक्त गर्नु भयो ।

खानेपानी योजनाको उद्घाटन गर्दै उपसभामुख सृजना दनुवारले निर्माण गरीएका खानेपानीका पूर्वाधारहरुको संरक्षण गर्नका लागि स्थानीय उपभोक्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले पानी जीवनसँग जोडिएको कारण निर्माण गरिएका पानी ट्याङ्की र धाराहरुको संरक्षण गर्दै सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले त्रियुगा नगरपालिकामा संचालित २४ वटा खानेपानी योजना यसै बर्ष भित्र सम्पन्न गरेर खानेपानिको समस्या अन्त्य गर्ने बताउनु भयो । उहाँले राजनिति गर्नेको भबिस्य पनि बिग्रने स्थानीयले पनि पानी खान नपाउने भएकाले खानेपानीमा राजनीतिलाई अलग गर्नु पर्ने धारण व्यक्त गर्नु भयो ।

प्रदेश सरकारको ८० लाख लागतमा निर्माण सम्पन्न खानेपानीबाट उक्त वडाका आठ सय घर धुरीलाई खानेपानी सुविधा पुग्ने शाहिखोला सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ । स्थानीय आपसोता खोलामा भुमिगत पानी विद्युतको माध्यमबाट १७ सय मिटर टाढा रहेको रिजर्व ट्याङ्कीबाट खानेपानीको वितरण सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष मदनराज कटुवालले जानकारी दिनु भयो ।