
पूर्णपुष्टि, असार १९
श्रमजीवी पत्रकारको पेसागत सुरक्षाको लागि नेपाल पत्रकार महासङ्घले आजदेखि आन्दोलन सुरु गरेको छ । पहिलो चरणको आन्दोलनमा महासङ्घले काठमाण्डौको बबरमहलमा प्रदर्शन गरिरहेको छ ।
कोरोना भाइरसको महामारीको बेला विभिन्न सञ्चार गृहले पत्रकारलाई तलब नदिएको, काम गर्ने वातावरण नदिएको र कामबाट हटाएको भन्दै महासङ्घले आन्दोलन थालेको हो ।
पेसागत सुरक्षाको ग्यारेण्टी नहुँदासम्म आन्दोलन जारी रहने महासङ्घका अध्यक्ष गोविन्द आचार्यले बताउनुभयो । श्रमजीवीहरुको मुद्दामा अन्तिम समयसम्म लड्ने प्रतिबद्धता जनाउनुभयो ।
मिडिया मालिकहरुसँग कुनै सम्झौता नगर्ने अध्यक्ष आचार्यले बताउनुभयो । अबको आन्दोलन श्रमजीवी पत्रकार ऐन लागू नभएका मिडिया हाउसमा केन्द्रित हुने उहाँले बताउनुभयो ।
