Sunday, June 28News That Matters

श्रीमतीको हत्या आरोपमा पुरुष पक्राउ

पूर्णपुष्टि, फागुन २६

मोरङमा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका–५ गौशालाका ४४ वर्षीय विष्णु ऋषिदेवलाई ३३ वर्षीया श्रीमती सावित्री दाहालको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

ऋषिदेवले श्रीमती दाहाललाई आइतबार राति कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । विष्णुलाई जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान अघि बढाएको छ ।

‘सावित्री आफ्नै घरमा मृत अवस्थामा रहेको जानकारी आएपछि इलाका प्रहरी कार्यालय बेलबारीको टोली आइतबार राति ८ बजेतिर घटनास्थल पुगेको थियो । प्रहरी घटना स्थल पुग्दाँ  सावित्रीको नाकबाट रगत बगिरहेको, घाँटीभन्दा तलको भागमा थिचेको डाम तथा अनुहार लगायत शरीरका विभिन्न भागमा चोट र निलडाम रहेको अवस्था शव बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । विष्णुले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । नियमित मादक पदार्थ सेवन गरेर झगडा गर्ने र आफूसँग पैसा मात्रै मागिरहने गरेकाले रिसको आवेगमा कुटपिट गर्दा सावित्रीको मृत्यु भएको विष्णुले स्वीकारेको हो ।

मृतक सावित्रीका काका रामबहादुर दाहालले विष्णुविरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएका प्रहरीले जनाएको छ । विष्णुविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार जिल्ला अदालतबाट म्याद थप गरेको प्रहरीले जनाएको छ ।