Tuesday, May 5News That Matters

श्रीमतीको हत्या गरी आफैँ पुगे श्रीमान प्रहरी कार्यालय

पूर्णपुष्टि, मंसिर २६
रुपन्देहीमा श्रीमतीको हत्या गरी श्रीमान आफैँ प्रहरी कार्यालयमा पुगेका छन् । शुक्रबार बिहान आफ्नै श्रीमती ३६ वर्षीय खुमा घर्तीको खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेका सुकुम भन्ने सन्तबहादुर घर्ती आफैं प्रहरी कार्यालय पुगेका हुन् ।
जिल्लाको सैनामैना–८ बाँसगढीमा घर भएकी खुमा शुक्रबार बुटवल–११ स्थित दिदी गोमा थापाको घरमा आएकी थिइन् । दिदीको घरमा बसेको बेला सन्तबहादुरले खुमाको घाँटीमा खुकुरी प्रहार गरेका थिए ।
बिहान साढे ११ बजेतिर खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी खुमाको उपचारको क्रममा मध्यान्ह साढे १२ बजेतिर लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।
श्रीमतीलाई खुकुरी प्रहार गरी तत्काल फरार रहेका सन्तबहादुर दिउँसो ३ बजेतिर आफैं इलाका प्रहरी कार्यालय बुटवल पुगेका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले आफूहरूले खोजी गरेको थाहा पाएपछि सन्तबहादुर आफैं प्रहरी कार्यालय पुगेको बततउनुभयो ।
केसीका अनुसार श्रीमतीको हत्या आफैंले स्वीकार गरेका सन्तबहादुर सामान्य अवस्थामा देखिएको र उनको स्वास्थ्य परीक्षण गर्ने तयारी भएको छ ।
आफैंले हत्या स्वीकार गरेका सन्तबहादुरले हत्या किन र के कारणले गरेको भन्ने प्रहरीसामु नबताएको प्रहरीले जनाएको छ ।