Sunday, March 16News That Matters

संसदमा गृहमन्त्री रवी लामिछानेको जवाफ सुन्ने विपक्षी दलको निर्णय

पूर्णपुष्टि, जेठ ६ । उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेलाई संसदमा विपक्षी दलले बोल्न दिने भएको छ । आज बिहान नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले आज गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको हो ।

विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए । संसदमा गृहमन्त्रीको जवाफ सुनेपछि चित्त बुझे संसद कार्यसुचीमा अगाडी बढ्ने नभए प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत समेत प्रभावित हुने कांग्रेसका एक नेताले बताए ।

सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले संसद नै अवरुद्ध गर्दै आएको थियो भने अन्य विपक्षीदलले पनि कांग्रेसको मागलाई समर्थन गरेको छ । शनिबार बसेको सत्ता पक्ष र प्रतिपक्ष दलहरुको संयुक्त बैठकले संसदीय समिति गठन गर्ने सहमति गरेको थियो भने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लागेको छैन । कार्यादेश टुंगो लगाउन एमाले नेता एवम् कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा गठन कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।