
पूर्णपुष्टि/उदयपुर, असार ३२। उदयपुरको त्रियुगा नगरपालिका–११, असारी रोडमा सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
एक कार्यक्रमका बीच त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले रिबन काटेर अस्पतालको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले नगरवासीलाई गुणस्तरीय र सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्न यस्ता अस्पतालको आवश्यकता रहेको बताउनुभयो। निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको अस्पतालले स्थानीय नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो।
अस्पतालका सञ्चालकका अनुसार यहाँ आधुनिक प्रयोगशालासहित २४सै घण्टा आकस्मिक सेवा, दैनिक ओपीडी, रेडियोलोजी सेवा, शल्यक्रिया, आईसीयू, स्त्री तथा प्रसूति (गाइनो) सेवा, अर्थोपेडिक सेवा लगायतका स्वास्थ्य सेवाहरू उपलब्ध हुनेछन्।
सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालले ज्येष्ठ नागरिकका लागि बेड भर्ना शुल्क निःशुल्क गर्ने व्यवस्था गरेको जनाएको छ। साथै, शहीद परिवार, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा जनआन्दोलनका घाइतेहरूलाई बेड भर्ना शुल्कमा ५० प्रतिशत र प्रयोगशाला (ल्याब) सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
अस्पताल सञ्चालनसँगै उदयपुरवासीले विशेषज्ञ चिकित्सकीय सेवा आफ्नै जिल्लामै सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
