
पूर्णपुष्टि/उदयपुर, असार ३२ ।
अविरल वर्षापछि पहिरोले क्षति पुर्याएको निर्माणाधीन पुवारे–डुमृथुम्का–रानिवास हुँदै रौतामाई मन्दिर जोड्ने सडक अन्तर्गत पुवारे–डुमृथुम्का खण्डमा तत्काल राहत तथा पुनःस्थापना कार्य गरिएको छ ।
राैतामाइ गाउपालिका–७ का वडाध्यक्ष मनाेज रानाका अनुसार असार २९ र ३० गतेको वर्षापछि सडक पहिरो जाँदा आसपासका कृषियोग्य जमिनमा क्षति पुगेको थियो । त्यसपछि स्थानीय तह, संघीय सरकारका प्रतिनिधि, पूर्व तथा वर्तमान जनप्रतिनिधि, पत्रकार, कलाकार, सामाजिक अभियन्ता, सामाजिक सञ्जाल प्रयोगकर्ता, समाजसेवी, कर्मचारी, व्यवसायी तथा विभिन्न कार्यालयका प्रतिनिधिहरूको संयुक्त पहलमा प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरिएको हो ।
टोलीले पहिरोका कारण थुनिएको भल बग्ने खोल्सो तत्काल खुलाउने, खेतमा पुगेको क्षतिलाई न्यून गर्न काल्हा तथा गह्रा निर्माण गरी पानीको उचित निकास मिलाउने कार्य गरेको जनाएको छ । 
स्थानीय किसानहरूले समयमै गरिएको यस पहलले थप क्षति हुनबाट जोगिएको र आफूहरूले तत्काल राहतको अनुभूति गरेको बताएका छन्। उनीहरूले दीर्घकालीन रूपमा सडक निर्माणलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित निकायले आवश्यक प्राविधिक उपाय अवलम्बन गर्नुपर्ने मागसमेत गरेका छन्।

स्थानीयवासीका अनुसार संयुक्त प्रयासबाट गरिएको तत्कालीन हस्तक्षेपले प्रभावित किसानलाई प्राथमिक राहत पुगेको छ भने सडक निर्माणका क्रममा यस्ता जोखिम न्यूनीकरणका उपायमा विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि औँल्याएको छ।
