Wednesday, July 15News That Matters

‘ध्रुवे’ हात्तीको दाह्रा काटियो

पूर्णपुष्टि/चितवन, असार ३२ ।

मानव–हात्ती द्वन्द्वका कारण चर्चामा रहेको र हालसम्म २५ जनाको ज्यान लिइसकेको जंगली हात्ती ‘ध्रुवे’लाई नियन्त्रणात्मक व्यवस्थापनअन्तर्गत डार्ट गरी यसको दाह्रा काटिएको छ भने घाँटीमा अत्याधुनिक स्याटेलाइट प्रविधिमा आधारित रेडियो कलर जडान गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार बुधबार राति करिब १०:३० बजे निकुञ्जभित्रको सुखिभार पोस्ट नजिक ध्रुवेलाई फेला पारिएपछि सफलतापूर्वक डार्ट गरिएको हो। त्यसपछि यसको घाँटीमा स्याटेलाइट प्रविधिमा आधारित रेडियो कलर जडान गरी दाह्रा काटेर पुनः जंगलमै छाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए।

गत असार २० गते भरतपुर महानगरपालिका–२३ बेलहट्टाकी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ध्रुवेको आक्रमणमा परी मृत्यु भएपछि निकुञ्जले हात्तीको खोजी तीव्र बनाएको थियो।

निकुञ्जका अनुसार जडान गरिएको रेडियो कलरबाट हात्तीको अवस्थिति छोटो–छोटो समयको अन्तरालमा थाहा पाउन सकिनेछ। साथै जियोफेन्सिङ प्रणालीमार्फत हात्ती मानव बस्ती नजिक पुगेको जानकारी तत्काल प्राप्त हुने भएकाले नियमित अनुगमन र मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ध्रुवे पछिल्ला केही दिनदेखि बारम्बार मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पुर्‍याइरहेको थियो। वर्षायाम, प्रतिकूल मौसम र घना झाडीका कारण खोजी अभियान चुनौतीपूर्ण बने पनि चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निकुञ्ज सुरक्षामा खटिएको नयाँ गोरख गणको नेपाली सेनाको संयुक्त टोलीले निरन्तर गस्ती, अनुगमन र निगरानी बढाउँदै अन्ततः बुधबार राति हात्तीलाई डार्ट गर्न सफल भएको हो।

निकुञ्जले अब रेडियो कलरबाट प्राप्त सूचनाका आधारमा ध्रुवेको गतिविधिको निरन्तर निगरानी गरिने र मानव–हात्ती द्वन्द्व कम गर्न आवश्यक व्यवस्थापनका कार्यहरू अघि बढाइने जनाएको छ।